झापा, पुष २८ । नेपाल टेलिकमले आजदेखि लागू हुने गरी विन्टर अफर २०७९ उपलब्ध गराउने भएको छ ।

कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको हो । विन्टर अफरमा कम्पनीले उपलब्ध गराइरहेको सजिलो प्रिपेड कम्बो अफरलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ । यसमा कम्पनीका प्रिपेड मोबाइलका ग्राहकलाई रु एक सय ९९ देखि रु छ सय ९९ सम्मका सुलभ दरका २८ दिनसम्म प्रयोग गर्न सकिने डेटा, भ्वाइस र सन्देशका विभिन्न प्याकहरु उपलब्ध छन् । ‘यस अफरअन्तर्गत जम्मा रु छ सय ९९ मा २८ दिनका लागि कूल २८ जिबी डेटा (दैनिक एक जिबी), दैनिक एक सय मिनेट कुराकानी गर्ने र दैनिक सयवटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको छ’ टेलिकमद्वारा आज जारी विज्ञप्तीमा भनिएको हो । यी बाहेक पहिलेदेखि नै उपलब्ध अफरलाई निरन्तरता दिइएको छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.np मार्फत विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ । कम्पनीले ग्राहकवर्गको सुविधाका लागि उपलब्ध गराएको विन्टर अफर थप आकर्षक हुने विश्वास कम्पनीको रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्