उर्लाबारी, पुष २८ ।संस्थाको नाममा कानुनविपरीत गतिविधि नगर्न राजवंशी समाज विकास समितिले आग्रह गरेको छ ।

राजवंशी समाज विकास समिति केन्द्रको बिहीवार उर्लाबारीमा बसेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा समितिका केन्द्रीय अध्यक्ष सुवन्तकुमार राजवंशीले आफू नेतृत्वको समितिलाई जिल्ला प्रशासन कार्यालय झापाले आधिकारिक मान्यता दिएको बताउँदै संस्थाको नाम र छाप अन्यले दुरुपयोग गरेको दावी गरे ।‘जिल्ला प्रशासन कार्यालय झापाले गत पुष ७ गते म अध्यक्ष रहेको राजवंशी समाज विकास समितिको केन्द्रीय समितिलाई मान्यता दिएको छ’ अध्यक्ष सुवन्तले भने, ‘जिल्ला प्रशासनको निर्णयपश्चात् पनि संस्थाको लेटरप्याड र छाप दुरुपयोग गरी विभिन्न गतिविधि गर्नु निन्दनीय कार्य हो ।’

समितिका महासचिव चन्द्रप्रसाद राजवंशीले गत असार ३१ गते कटहरीमा विधानबमोजिम खुलासत्र र बन्दसत्रमा दुईतिहाईभन्दा बढी प्रतिनिधिहरुको उपस्थितिमा निर्वाचन प्रक्रियाबाट सुवन्तकुमार राजवंशीको नेतृत्वमा समिति गठन भएको बताए । ‘महाविधेशनमा पराजित हुने डरले मोहन राजवंशीलगायत केही व्यक्तिहरु निर्वाचनमा भाग नलिई निर्वाचन स्थल छोडेर जानुभयो’ महासचिव राजवंशीले भने, ‘पछि उहाँले विशेष महाधिवेशनको नाममा अभय राजवंशीको अध्यक्षतामा तदर्थ समिति बनाउनुभएछ ।’

उक्त समिति अवैधानिक रहेको अध्यक्ष सुवन्तकुमार राजवंशीले बताए । जिल्ला प्रशासन कार्यालयले आफू नेतृत्वको समिति नै आधिकारिक रहेको जनाइसक्दा पनि समानान्तर गतिविधि गर्नु लज्जाजनक विषय रहेको उनले बताए । यस्ता गतिविधि नगर्न उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्