झापा, पुष २९ । झापाको गौरादहमा स्कुल बसको ठक्करबाट एक पैदलयात्री बृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गौरादह नगरपालिका– १ की ७२ वर्षीया तुलसा दाहाल रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले जानकारी दिए ।
प्रहरीका अनुसार बिहीबार दिउँसो ३ बजे गौरादह– १ स्थित भित्री बाटोमा दक्षिणबाट उतरतर्फ जाँदै गरेको मे.१ ख २६७६ न.को माउन्ट एभरेष्ट बोर्डिङ स्कुलको बसले नगर अस्पताल मोडनजिकैको सडकमा दाहाललाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएकी बृद्धालाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल पठाइएको र त्यहाँ उपचार सम्भव नहुँदा बिर्तामोडस्थित बीएण्डसी अस्पताल रिफर गरिएको थियो । उनको बीएण्डसीमा उपचारको क्रममा राति ९.१५ बजे मृत्यु भएको हो । प्रहरीले बस र बस चालक गौरादह– २ बस्ने ३७ वर्षीय अमरलाल ताजपुरियालाई नियन्त्रणमा लिएको छ ।