झापा , पुष २९ । झापाको मेचीनगरबाट ठूलो परिमाणमा चाँदीका गरगहनासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बाहुण्डाँगीका इन्स्पेक्टर विदुर भट्टराईको नेतृत्वमा खटिएको टोलीले मेचीनगर नगरपालिका-४ स्थित दशगजा ईलाकाबाट ५०० मिटर पश्चिम बाहुण्डाँगी बजार नजिकैबाट महोत्तरी जिल्ला बर्दिबास-३ निवासी ४४ वर्षीय यादवराज घिमिरेलाई चाँदीको गरगहना र कस्तुरीको बिनासहित पक्राउ गरेको हो । बिहीबार मध्यराति १२ बजे घिमिरेले मे ५ प २२०४ को मोटरसाइकलमा काँकडभिट्टातर्फ गइरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा उनको साथबाट भारतबाट अवैधरुपमा नेपाल भित्राइएको चाँदीको गरगहना र कस्तुरीको बिना फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको चाँदीको मूल्य सात लाख , मोटरसाइकलको एक लाख मूल्यांकन तोकेर आवश्यक कारबाहीका लागि सम्बन्धित निकाय बुझाउने तयारी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्