झापा, पुष २९ । सीमा नाकाबाट हुँदै आएको तस्करी रोक्न मोरङका विभिन्न नाकामा उच्च सतर्कता अपनाइएको छ ।

चोरी तस्करी नियन्त्रणका लागि नेपाल-भारत सीमा क्षेत्रमा निगरानी बढाएर प्रहरीले कडाइ गर्न थालेको हो । भन्सार छली गरेर नेपाल भित्राइएका करिव ४५ लाख मूल्य बराबरको सामान पछिल्लो २ साताको अवधिमा बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार सामान तस्करीमा संलग्न ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१८ का २१ वर्षीय रहमद मियाँ, विराटनगर-१७ का ३० वर्षीय मस्जिद आलम र २० वर्षीय मोहम्मद अरवाज रहेका छन् । उनीहरूलाई २ लाख मूल्य बराबरको सुन राख्ने बट्टासहित पुस १५ गते विराटनगर-१८ खोक्साहाबाट पक्राउ गरिएको डीएसपी श्रेष्ठ बताउँछन् । उनका अनुसार जिल्ला प्रहरी कार्यालय मोरङ, वडा प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय रानी, रंगेली लगायतका युनिटबाट खटिएको अलगअलग टोलीले खाद्यान्न, किराना मालसामान, लत्ताकपडा, मोटर पार्टस्, सुन राख्ने बट्टा, बिजुलीका सामान विभिन्न ठाउँबाट बरामद गरेको छ । तस्करीका सामान ओसारपसारमा प्रयोग गरिएका केही सवारीसाधन पनि प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै, भारतबाट ल्याइएका ब्रोइलर कुखुरा, माछा तथा नेपालबाट भारततिर लैजान खोजिएका चौपाया पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी दीपेन्द्र पञ्जियार थारु नेतृत्वको टोलीले विराटनगरबाट २ लाख ४४ हजार रूपैयाँ बढीको अवैध घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ र भाँडावर्तन नियन्त्रणमा लिएको छ। मोतिया बिन्दुको शल्यक्रिया गरेका बिरामीको आँखामा प्रयोग गरिने लेन्ससमेत भारतको जोगबनीबाट तस्करी भएर आउने गरेको पाइएको छ। ८ लाख २० हजार मूल्य बराबरको लेन्स इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल नेतृत्वको टोलीले विराटनगर-१६ बाट नियन्त्रणमा लिएको हो । त्यस्तै औषधि, कपडा, चाबी, चिया छान्ने जालीलगायतका सामान पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। २ साताभित्रमा रानीको टोलीले मात्रै लगभग २५ लाख मूल्यभन्दा बढीका अवैध सामान नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी निरीक्षक शैलेश न्यौपाने नेतृत्वको टोलीले धनपालथानको कर्सिया, मायागञ्जसमेतका स्थानबाट लत्ताकपडा, खाद्यान्न, मोटर पार्टस्लगायतका अवैध सामान नियन्त्रणमा लिएको छ। रंगेली नगरपालिका-१ बबियाबाट पुस १७ गते प्रहरीले ३ सय ५० किलोग्राम गाँजासमेत बरामद गरेको थियो। गाँजा बरामद भएपछि मनोज राजवंशीसहित धनकुटाको शहीदभूमि गाउँपालिका-२ का २९ वर्षीय बेचन भनिने हस्त राईलाई प्रहरीले पक्राउ गर्‍यो।

तस्करीमा संलग्नले मोरङको धनपालथान, रतुवामाई, रंगेली, जहदा, विराटनगरलगायतका स्थानबाट सामानको अवैध ओसारपसार गर्ने गरेको खुलेको छ। मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बरामद गरिएका अवैध सामान कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए। ‘चिसो मौसमसँगै तराईमा बाक्लो हुस्सु लाग्ने क्रम बढेको छ। हुस्सुले नजिकैको दृष्यसमेत देख्न मुस्किल पर्छ,’ उनले भने, ‘त्यो मौका छोप्दै नेपाल-भारत सीमा क्षेत्रबाट सामानको तस्करी हुने गरेको पाइयो। सवैतिर कडाइ गर्दै तस्करी नियन्त्रणमा सक्रियता बढाइएको छ।’ ‘चोरी तस्करीलगायतका अवैध धन्दा नियन्त्रणलाई प्राथमिकतामा राखेर सीमा क्षेत्रमा निगरानी बढाइएको छ,’ उनले भने, ‘तस्करीमा संलग्नलाई पनि पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन थालिएको छ।’ कोइरालाले तस्करी रोक्न सशस्त्र प्रहरीसँग समेत समन्वय भइरहेको बताए। नेपाल प्रहरीका प्रदेश १ प्रमुख डीआईजी सुदीप गिरी र सशस्त्र प्रहरी बलका प्रमुख डीआईजी कमल गिरीले सीमा क्षेत्रबाट हुने अवैध धन्दालाई शून्यमा झार्ने हिसाबमा काम गर्न मातहतका युनिटलाई निर्देशन दिएका छन्। ‘तस्करीलाई बढुवा दिने र अवैध धन्दामा संलग्नसँग साँठगाठ गर्नेलाई कारबाही हुन्छ,’ सशस्त्रका डीआईजी गिरीले भने, ‘आफ्नो जिम्मेवारी पूरा गर्न सशस्त्र प्रहरी प्रतिबद्ध छ।’ तराईमा बाक्लो हुस्सु लाग्ने क्रम बढेपछि नजिकैको दृश्यसमेत देख्न मुस्किल पर्ने र त्यही मौका छोप्दै नेपाल-भारत सीमा क्षेत्रबाट सामान तस्करी हुने गरेको प्रहरीको भनाइ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्