झापा, पुष २९ । सँधैझैं यस वर्ष पनि बिर्तामोड नगरपालिका वडा नं ८ का वडाध्यक्ष अजय कार्कीले अपांग अशक्तहरुलाई न्यानो लुगा वितरण गरेका छन् ।
बिर्तामोड ८ भित्र रहेका ८० जना अपांग अशक्तलाई आज वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष कार्कीले व्लांकेट वितरण गरेका हुन् । अपांग अशक्त सशक्तिकरण कार्यक्रमअन्तर्गत जाडो छल्नका लागि एक लाख रुपैयाँको बजेटले ८० जना अपांग र अशक्तलाई ब्लांकेट वितरण गरिएको वडाध्यक्ष कार्कीले बताए । विपन्न हुँदाहुँदै शारीरिक रुपमा अशक्त अपांग भएर झनै विजोगमा परेका उनीहरुले जाडोले अकालमा ज्यान गुमाउनु नपरोस् भनेर ब्लांकेट वितरण गरिएको जानकारी दिए ।
कार्यक्रममा वडा सदस्यहरु इन्दिरा पाण्डे , लक्ष्मी नेपाली , अग्निप्रसाद सिटौला, सोयालाल राजवंशीलगायतको उपस्थिति रहेको थियो । बिर्तामोड ८ नं. वडा कार्यालयले विगत चार वर्षदेखि अपांग अशक्तलाई लुगा वितरण गर्दै आएको छ ।
यस वर्षसहित ३ वर्ष ब्लांकेट तथा एक वर्ष तन्ना र झुल वितरण गरिएको वडा सदस्य इन्दिरा पाण्डेले जानकारी दिइन् । वडाध्यक्ष कार्कीले घरघरमै पुगेर अपांग अशक्तहरुलाई ह्वील चियर , बैशाखी , लौरो जस्ता सहयोगी सामग्रीसंगै नगद सहयोग गर्ने गरेका छन् ।