भद्रपुर, पुष ३० । नेपाल क्षयरोग निवारण संस्था झापा शाखाको २१ औं जिल्ला सभाले आठौँ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ ।

पुनः गोपालबहादुर थापाको नेतृत्वमा जिल्ला कार्यसमिति चयन भएको हो । सर्वसम्मतिबाट गठित नयाँ कार्यसमितिमा सभापति थापालगायत गोपाल गिरी, कृष्णप्रसाद प्रसाईँ, केदार महत, शर्मिला अधिकारी, भीष्म प्रसाईँ, ससीम पोखरेल, जगन्नाथ खनाल, धनजुजु श्रेष्ठ, सुरेन्द्र खत्री र मानबहादुर धमला सदस्यमा चयन भएको घोषणा गर्दै संस्थाका केन्द्रीय महासचिव एवम् निर्वाचन अधिकृत राजन श्रेष्ठले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका छन् ।
अब नवनिर्वाचित समितिको पहिलो बैठकले उपसभापति,सचिव, सहसचिव र कोषाध्यक्ष चयन गर्ने जनाइएको छ ।भद्रपुर– ८स्थित शाखाको आफ्नै परिसरमा शनिवार प्रमुख अतिथि निवर्तमान प्रदेश मन्त्री ओमप्रकाश सरावगीले सभाको उद्घाटन गरेका थिए ।
संक्रामक क्षयरोग (टिबी)को किटाणु पत्ता लगाउने जर्मन वैज्ञानिक रबर्ट ककको तस्बीरमा माल्यार्पण गरी प्रारम्भ सो सभाको उद्घाटन सत्रमा प्रमुख अतिथि सरावगीलगायत भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, केन्द्रीय महासचिव राजन श्रेष्ठ, पूर्वअध्यक्ष काजीलाल डङ्गोल, तारा भुर्तेललगायतले मन्तव्य राखेका थिए ।
शाखाका यशस्कर तथा विशिष्ट सदस्यहरूका साथै पूर्व सभापति र संस्थागत एवम् व्यक्तिगत दाताहरूलाई सम्मान गरिएको सो सभाको उद्घाटन सत्रमा एक्सेल बैंक चन्द्रगढी शाखाका तर्फबाट सामाजिक उत्तरदायित्वअन्तर्गत २५ थान प्लास्टिकका कुर्सी सिइओ डा. इन्द्रकुमार कट्टेलले हस्तान्तरण गरेका थिए ।
संस्थाका सभापति थापाको सभापतित्वमा भएको उद्घाटन सत्रमा शर्मिला अधिकारीले स्वागत र सचिव ऋषि चापागाईँले कार्यक्रम सञ्चालन गरेका थिए ।