झापा, पुष ३० । झापामा दुईवटा राँगा चोरीमा संलग्न एक भारतीय युवक पक्राउ परेका छन् ।

घटनामा संलग्न अझै तीन भारतीय फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले जानकारी दिए । पक्राउ पर्नेमा भारतको विहार राज्य किशनगञ्ज जिल्ला धनतोला ग्राम पञ्चायत बस्ने गोल महमदका २२ वर्षीय छोरा मोहम्मद नाजिर रहेको डीएसपी थापाले बताए ।
पुष २६ गते राति साढे ११ बजेको समयमा झापा गाउँपालिका ४ निवासी अमालो मियाँको गोठमा बाँधिराखेको दुईवटा राँगा चोरी भएको थियो । चोरी भएको राँगा प्रहरी चौकी टाँघनडुब्बाले खोजतलास गर्ने क्रममा नेपाल भारतको दशगजा सीमा क्षेत्र जोडिएको धनतोला ग्राम पञ्चायत निवासी मोहम्मद नाजिर, सोही ठाउँका अन्दाजी २० वर्षीय आजाहार महमद, अन्दाजी १९ वर्षीय ईजाहुल हक र १९ वर्षीय गोदा भन्ने (नाम र थर नखुलेको) चार जनाले लगेको भनी खुलेको थियो ।
त्यसपछि नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिले भारतीय प्रहरीसँग समन्वय गरी नाजिरलाई चोरिएका दुईवटा राँगासहित पक्राउ गर्न प्रहरी सफल भएका हुन् । पक्राउ परेका उनलाई प्रहरी कार्यालय झापामा राखेर चोरी मुद्दामा झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । घटनामा संलग्न अन्य तीन जनाको भारतीय प्रहरीसँगको समन्वयमा खोजी भइरहेको छ ।