बाह्रदशी, माघ १ ।आज माघ १ गते माघे संक्रान्तिका दिन झापा बाह्रदशीको राजगढमा सेलरोटी महोत्सव आयोजना गरिएको छ ।

जनचेतना मूल कृषक समूहको आयोजनामा विगतका वर्षहरुदेखि माघे संक्रान्तिका दिन सेलरोटी महोत्सव हुँदै आएको छ । माघे संक्रान्तिमा सेलरोटीको विशेष महत्व हुने भएकाले सेलरोटी महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।

महोत्सवमा ३ सय केजी चामलको सेलरोटी पकाएर निःशुल्क बाँडिएको छ । मूल कृषक समूहमा आवद्ध २४ वटा कृषक समूहले सेलरोटी पकाउन १२ वटा ताई प्रयोग गरेका थिए । एउटा ताईमा तीनजना महिला खटिएका थिए । सहभागीहरुलाई सेलरोटीसंगै तरकारी र अचार खान दिइएको कार्यपालिका सदस्य लक्ष्मी निरौला अधिकारीले बताइन् ।

जनचेतना मूल कृषक समूहका अध्यक्ष राजन लामिछानेको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष शान्ता खरेल शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गाउँपालिकाका वडाध्यक्षहरु , कार्यपालिका सदस्यहरु , वडा सदस्यहरु, निवर्तमान जनप्रतिनिधिहरु , विभिन्न संघसंस्थाका प्रतिनिधिहरु , व्यवसायीलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा पशुपति माविका पूर्व प्रधानाध्यापक नन्दप्रसाद कुँवर , बाह्रदशी सामुदायिक क्याम्पसका अध्यक्ष गंगाप्रसाद अधिकारी , विश्व हिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष यज्ञप्रसाद ओलीलगायतले बोलेका थिए ।