झापा, माघ १ । यति एयरको एटीआर ७२ विमान दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ।

सेती नदीको खोँचमा दुर्घटना भएकाले उद्धार कार्य जटिल भएको सम्बन्धित अधिकारीले जनाएका छन् ।
उद्धारका लागि सुरक्षाकर्मीहरू परिचालन भइरहेको र विमानमा लागेको आगो पनि निभाउने काम भइरहेको छ।
यति एयरलाइन्सको कलसाइन ९एन–एएनसी एटीआर–७२ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि दुर्घटना भएको थियो ।

आइतबार बिहान साढे १० बजे काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा उडेको थियो। ११ बजे पोखराको नयाँ एयरपोर्टमा ल्याण्ड हुने क्रममा विमान दुर्घटना भएको थियो।विमानमा ६८ यात्रुसहित ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।
बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको नयाँगाउँस्थित सेतीको खोंचमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा पर्ने यतिको उक्त विमान पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अवतरण गर्ने विमान थियो । उक्त विमानलाई यति एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडाएका थिए । क्याप्टेन केसी प्रशिक्षक पाइलट पनि हुन् । यही विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डेमो उडान गरेका थिए । नेपालमा ७२ यात्रु क्षमताको एटीआर विमान दुर्घटना भएको यो पहिलो घटना हो । पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको एटीआर ७२ विमानमा १० विदेशी नागरिक रहेको पाइएको छ। विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए। जसमध्ये ६ जना बालबालिका रहेका छन्। बालबालिकामध्ये ३ जना शिशु रहेको पाइएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्