झापा, माघ १ । सेती नदीको खोंचमा दुर्घटना भएको यति एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्ति निकालेर आइतबार अपराह्न साढे ४ बजेसम्ममा ६८ शव दुर्घटनास्थलबाट निकालिएको जानकारी दिएको हो । केन्द्रका अनुसार अन्य शवको खोजी कार्य जारी छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले सेती नदीको खोंचमा धेरै तल विमान खसेका कारण क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको बताए । समन्वय केन्द्रले दुर्घटनामा परेका मृतक यात्रुका परिवारका सदस्य वा आफन्तजनहरुले थप जानकारी चाहिएमा काठमाडौं विमानस्थल कार्यालयको ०१–४११३१६३ र यति एयरलाइन्सका पेम्बा शेर्पाको ९८०१००७५३१ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
काठमाडौंबाट बिहान १०ः३२ बजे पोखराका लागि नेपाली ५३, विदेशी १५ र ४ चालक दलका सदस्यसहित उडेको यति एयरको NTY 691, 9N–ANC विमान १०ः५० बजे दुर्घटना भएको थियो ।जहाजमा २५ महिला, ३७ पुरुष ३ बालक र ३ शिशु थिए । यसैबीच नेपालको हवाई उड्डयन इतिहासमा आइतबार पोखराको दुर्घटनासहित हवाई दुर्घटनाको संख्या १०४ पुगेको छ । २०१२ वैशाखमा पहिलोपटक सिमरामा भारतको कलिंगा एयर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको ‘एभीएसन सेफ्टी रिपोर्ट’ अनुसार व्यवसायिक आन्तरिक उडानतर्फ पोखरामा आइतबार भएको यो ५० औं दुर्घटना हो । त्यस्तै नेपालमा हालसम्म एक इन्जिनयुक्त आठ वटा दुर्घटना भएका छन् भने हेलिकप्टरतर्फ ३६ र विदेशी १० वटा वायुसेवासमेत गरी नेपालमा हालसम्म १ सय ४ वटा दुर्घटना भइसकेका छन् ।
यी दुर्घटनामा अहिलेसम्म साढे ८ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । आइतबारको पोखरा दुर्घटनाबाहेक हालसम्म यी हवाई दुर्घटनामा ८ सय ४९ को मृत्यु भइसकेको छ ।
जसमा आन्तरिकतर्फ ३ सय ६४, सिंगल इन्जिन भएका विमान दुर्घटनामा २५, हेलिकप्टरतर्फ ८५ र विदेशी वायुसेवातर्फ ३ सय ७५ गरी गरी जम्मा ८ सय ४९ को मृत्यु भइसकेको छ ।

आइतबार पोखराका लागि चार चालक दल र ६८ जना यात्रु बोकेर काठमाडौंबाट उडेको यति एयरको एटीआर विमान घटना यति समूहको २४ वर्षयता भएको १४ औं हवाई दुर्घटना हो ।
यसअघि गत जेठमा जोमसोमका लागि १९ जना यात्रु बोकेर पोखराबाट उडेको तारा एयरको ट्विनअटर विमान दुर्घटनाग्रस्त भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्