बिर्तामोड , माघ १ । नेपाल मधेसी समाज सेवा समितिले मकर संक्रान्तिका अवसरमा आज खिचडी प्रसाद वितरण गरेको छ ।

बिर्तामोड –३ बिर्ताबजारस्थित दुर्गा मन्दिरअगाडि समितिले खिचडी प्रसाद वितरण गरेको हो । समितिका अध्यक्ष रामेश्वर मण्डलको अध्यक्षता तथा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको विशिष्ट अतिथिमा बिर्तामोड– ३ का निवर्तमान वडाध्यक्ष भोजराज सिटौला रहेका थिए ।
कार्यक्रममा बिर्तामोड– ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, बिर्तामोड नगरपालिकाका अधिकृत मेघराज बास्तोला , नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडका निवर्तमान सभापति सजेश शिवाकोटीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन आयोजक समितिकी प्रवक्ता निशा कर्ण मण्डलले गरेकी थिइन् ।
यसअघि हिजो मात्र मधेसी समाज सेवा समितिले कपडा बैंक सम्पन्न गरेको थियो । १५ दिनसम्म बिर्ताबजारमै कपडा बैंक संचालन गरिएको समितिका अध्यक्ष मण्डलले बताए । समितिले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको उनले जानकारी दिए ।