आजभोलि पिकनिकको सिजन चलेको छ । विदाको दिनमा पिकनिक जाने भन्ने सल्लाह आजभोलि धेरै हुने गर्दछ । कसैको त, तीन– चार पटक नै भैसक्यो होला भने कतिको एक पटक पनि भएको छैन होला । विभिन्न संघसंस्था , कम्पनी , स्कुललगायतबाट पिकनिक खान जाने प्रचलन बढ्दो छ । आजभोलिको पिकनिक खान जान पैसा तिरेर खान पुग्नुपर्ने हुन्छ । जानेको प्रवन्ध मिलाउनु पर्दैन । सबै आ–आफ्नै साधनबाट आउने चलन छ अनि आफ्नो अनुकुलता हेरेर जानु पर्छ । कुनै निश्चित समय पनि छैन । पुग्नु चाहिँ पर्यो । के के पाक्यो भनेर खाने बेलामा मात्र थाहा हुन्छ । को को जाने भन्ने पनि त्यहाँ पुगेपछि मात्र देखेर थाहा हुन्छ । पिकनिक जान रहर सबैलाई लाग्छ किनकी हामी बालापनबाट नै पिकनिक जाने गरेका थियौं । र आज पनि साथीभाइले पिकनिक जाऔं भन्दा त्यही बालापनको उमंग मानसपटलमा आउँछ र हामी पिकनिक जान हौसिन्छौ । पिकनिक जान्छौं तर पहिला र अहिले पिकनिक खान जाने तरिका फेरिएको छ । हामी धेरै व्यस्त भएर हो कि अस्तव्यस्त भएर हो हामी पिकनिकमा त्यही बालापनको पिकनिकको रमाइलो खोज्छौं । आजभोलिको पिकनिक पनि प्रतिष्पर्धा जस्तै भएको छ । कसले ठूलो बाजा बजाउने अनि कसले राम्रो रक्सी खुवाउने भन्नेमा हामी लागेका छौ । एक आपसको आत्मीयताभन्दा पनि खानाको परिकारको विविधता बढी महत्व हुन थालेको छ । खानको लागि पिकनिक जाने भन्नेझै भैसकेको छ आजभोलिको पिकनिक । अनि पिकनिकमा मदिरा सेवन झनै धेरै हुन थालेको छ । पिकनिक पनि एउटा संस्कृति थियो तर दिन प्रतिदिन विकृति बन्दै गएको भान हुन थालेको छ । हुने खानेका लागि जहिल्यै पिकनिक होला तर हुँदा खानेको लागि भने दैनिक जोहो गर्न नै गाह्रो भएको छ यसै समाजमा ।

आजभोलि यो पिकनिकको सिजनले गर्दा पनि मलाई यो पिकनिकको बारेमा लेख्न मन लाग्यो । बालापनमा खेतको बीचमा बसेर वा खोलाको किनारमा बसेर खाएको पिकनिक धेरैलाई सम्झना होला । म पनि ती दिन सम्झिदै लेख्दै गएँ । ती साथीभाइ अनि ती पल आज सम्झना मात्र रहेका छन् । ती पल सम्झदा पनि कति प्रफुल्ल छ मन । दिदीहरुको साथ लागेर गएको क्षण अनि ती साथीभाइको साथमा कति खुसी भएका हुन्थ्यौं । आजभोलिको पिकनिकमा दिन त रमाईलो होला तर मन रमाइलो नहुन सक्छ । मनमा अनेक चिन्ता , जिम्मेवारी र तनाव बोकेर भए पनि रमाइलो गर्न साथीभाइ पिकनिक जाने गर्दछौ ।

हरेकको घर–घरबाट चामल ,तरकारी , दाउरा मरमसलालगायतका भाँडाकँुडा सामानहरु उठाएर लगेर खेतमा पकाएर खाएको सायदै धेरैलाई सम्झना होला । खाना राम्रो पकाउन पनि नआउँदाको समय थियो । बनभोज खाने भन्ने चलन धेरै पहिलाबाट सुरु भएको थियो भन्ने रहेको छ । बालापनमा बनभोज खाएको संझना सायदै सबैलाई मानसपटलमा होला । पिकनिक खान दश– बीस रुपैयाँ उठाएको । पिकनिकमा खाना पकाउँदा खाना काँचै भएको काँचै खाना खाएर पिकनिकबाट फर्केको त्यो रमाईलो , आगो फुक्दा फुक्दा नबलेको क्षण , आज सम्झदा पनि रमाइलो लाग्छ । चिसो माटोमा चुलो बनाउँदा आगो नबलेर हैरान , हावाले आगो राम्रो बल्न नदिँदा खाना काँचै भएको क्षण, कति अविस्मरणीय थियो । गाउँभरिका साथीभाइ भेला भएर पिकनिक खान जाने सल्लाह गर्दा कयौं दिन बितेका छन् । केमा जाने , कहाँ जाने, र कसरी जाने भन्ने विषयमा केही दिन अगाडी नै सल्लाह गर्नु पथ्र्यो । मिठो मसिनो खानेभन्दा पनि साथीभाइ सबै भेला भएर सबैले मिलेर जानेको कुरा पकाउने , तरकारी काट्ने , केलाउने , दाउरा खोज्ने गर्दाको क्षण नै रमाईलो थियो । कयौ पिकनिकमा त रेडियो लिएरै गएका थियांै होला । नाचगान आफूआफू गाएर गरिन्थ्यो । कति मजा कति रमाईलो हुन्थ्यो । पिकनिक खाँदै खेल्दै गर्दाको त्यो रमाईलो क्षण कति अविस्मरणीय रहेको छ ।

मलाई स्कुलबाट पिकनिक गएको त खासै याद छैन तर, गाउँबाट साथीभाइ भेला भएर खेतको बीचमा बसेर पिकनिक खाएको अहिले पनि झलझली रहेको छ । पानीको नजिक हुने ठाउँ नै पिकनिक खानको लागि उपयुक्त हुन्थ्यो । पालो गरीगरी पानी बोकिन्थ्यो , भाँडा माझिन्थ्यो , सबै काम आफूले गर्दा पनि कति फुरु¨ हुन्थ्यो मन । हिजो त्यो बालापनमा खाएको पिकनिक साँच्चै नै रमाइलो पल थियो । साथीभाइमा आत्मीयता भाइचारा त्यो पिकनिकमा थियो । सबै मिलेर काम गर्दा मनै प्रफुल्ल हुन्थ्यो । रमाईलोसंग साथीभाइ मिलेर पिकनिक खाँदा पेट त भरिदैन थियो तर मन भने भरिन्थ्यो । दिनभरि पिकनिकमा आफू के काम गर्ने भन्नेमा तछाड मछाड हुन्थ्यो । पिकनिकमै साथीभाइ मिलेर खेलिन्थ्यो खाना काँचै भएपनि खुशीसाथ खाइन्थ्यो । मिठो नमिठो भन्दा पनि सबैजना संगै बसेर पिकनिक खाँदा मनै प्रफुल्ल हुन्थ्यो । जाडोको मौसममा बाक्लै लुगा लगाइन्थ्यो तथापि खेल्दा खेल्दा गर्मी नै हुन्थ्यो । खेतमा गएर पिकनिक खाँदा असहज परिस्थिति भएता पनि सहज लिएर सबै मिलेर पिकनिक खाइन्थ्यो । मेलमिलापले असहज परिस्थितिलाई पनि सहज बनाउन सकिन्छ भन्ने ज्वलन्त उदाहरण हिजोको दिनमा खेतको बीचमा बसेर पिकनिक खाँदा । समूहमा गएर सबै जना मिलेर खाना पकाउनु , मिलेर आ–आफ्नो जिम्मेवारीपूर्वक काम गर्दा पिकनिकको रौनकता धेरै थियो ।

सायद हिजोका दिनमा बाहिर होटल रेस्टुरेष्टमा गएर खाना खाने प्रचलन थिएन होला । त्यसैले पनि वर्षमा एक पटक गाउँमा सबै मिलेर बनमा गएर खाना पकाएर खाने गरिन्थ्यो अनि त्यसैले पनि बनभोज खाने प्रचलन शुरु भयो होला । त्यही प्रचलनलाई अंगाल्दै आज पनि जंगल ,खोलातिर बनभोज खान गइन्छ । संस्कार, संस्कृति र परम्परा हिजोबाट नै सुरु भएको हो । हामीले यी परम्परालाई जोगाउनु पर्छ । पिकनिकको महत्व जोगाउनु पर्छ । हास्दै, खेल्दै, खाँदै रमाउनु पर्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्