झापा , माघ २ । पोखरामा आइतबार भएको यती एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव केही समय पछि आफन्तलाई जिम्मा लगाइने भएको छ ।

केही शवको पहिचान भए पनि केहीको बाँकी रहेकाले पहिचान कार्य सकिएपछि आफन्तलाई जिम्मा लगाइने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले जानकारी दिए । पहिचान हुन बाँकी शव भने काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाउने तयारी भइरहेको उनले बताए । त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरेर आफन्तलाई बुझाइने उनले जानकारी दिए । पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौंमा आफन्त भएका व्यक्तिको शव हेलिकोप्टरमार्फत पठाउने तयारी गरिएको छ । जहाजमा सवार ७२ जनामध्ये हालसम्म ६६ जनाको शव संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिसकिएको छ ।