झापा । माघ २ । खोटाङमा विद्यालयबाट घर फर्कने क्रममा वेपत्ता किशोरी मृत फेला परेकी छन् ।

हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थान काभ्रेकी १७ वर्षीय रञ्जिता दाहाल सोमबार बिहान घरनजिकै खन्युको फेदमा मृत फेला परेकी हुन् । आइतबार दिउँसो घर फर्कनेक्रममा सम्पर्कबिहीन बनेकी बालिकाको शव खन्युको फेदमा पासो चुँडिएर खसेको जस्तो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । बालिका महेन्द्रोद्धय मा.वि हलेसीमा कक्षा १० मा अध्ययनरत थिइन् । पुस ३ गतेदेखि विद्यालयमा आयोजना गरिएको नगरस्तरिय भलिबल, फुटबल र नृत्य प्रतियोगीताको तयारीका लागि रञ्जिता गाउँकै साथीसँग विद्यालय पुगेकी थिइन् । प्रतियोगिताको तयारी सकेपछि उनी साथीसँगै दिउँसो साँढे तीन बजेतिर घर फर्केकी थिइन् । बाटैमा पर्ने साथीको घरमा रोटी खान आग्रह गर्दा हतार छ भन्दै रोटी बोकेर हिँडेकी बालिका घरभन्दा करिब दुई सयमिटर टाढा मृत फेला परेकी हुन् । घट्नास्थलमा पातलो सलको टुक्रा घाँटीमा र एक टुक्रा सल रुखको हाँगामा रहेको अवस्थामा शव भेटिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए । ओठ, आँखा, घाँटीमा चोट देखिएकाले घटनालाई शंकास्पद मानिएको वडाध्यक्ष गिरीले बताए । घटनाको वियषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमपछि किशोरीलाई ‘हत्या गरेर झुण्ड्याइएको जस्तो बनाउन खोजिएको वा आफैं झुण्डिएको’ विषय खुल्ने डिएसपी मुकारुङले बताए । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ विश्वकर्माको हत्या भएको पाँच वर्ष वित्दा समेत दोषी पत्ता लाग्न सकेको छैन । ज्ञानीमायाँ घर नजिकै २०७४ जेठ १६ गते विभत्स अवस्थामा मृत फेला परेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्