झापा , माघ ३ । ताप्लेजुङमा सीता एयरले बुधबारदेखि काठमाडौँ-ताप्लेजुङ-काठमाडौं र ताप्लेजुङ-भद्रपुर-ताप्लेजुङ उडान भर्ने भएको छ ।

ताप्लेजुङमा पर्यटक तथा तीर्थयात्रीहरूको चहलपहल बढ्ने समय भएसँगै उडान थप गरिएको हो । सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्स र सीता एयर गरी दुई कम्पनीले उडान गर्ने भएको छ । सुकेटार विमानस्थलबाट साताको सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन उडान गर्ने तालिका रहे पनि सीता एयरले बुधबार भने दुईपटक उडान गर्ने कार्यालय प्रमुख सिरी खड्काले बताए । उनका अनुसार बुधबार ताप्लेजुङबाट झापाको भद्रपुर र काठमाडौँका लागि दुईपटक उडान हुनेछ । यस्तै हप्ताको चारपटक काठमाडौँ-ताप्लेजुङ-काठमाडौँ उडान गरिरहेको निगमको जहाजले पनि सातामा एकपटक ताप्लेजुङ-विराटनगर उडान गर्ने तयारी गरिहेको ‘स्टेशन इन्चार्ज’ लोकेन्द्र हाङ्गाम लिम्बूले बताए ।

प्रदेश नं १ को राजधानीलाई लक्षित गरी कम्तीमा सातामा एक दिन ताप्लेजुङ-विराटनगर उडान गर्ने तालिका बनिरहेको उनले जानकारी दिए । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट समेत नेपाल वायु सेवा निमगको ट्वीनअटर जहाजले उडान भर्ने तालिकासँगै ताप्लेजुङ-विराटनगरको उडान तालिका पनि तय हुने उनको भनाइ छ । यस पहिले सीता एयरले काठमाडौँ-ताप्लेजुङ-काठमाडौँ उडान गर्दै आएकामा वर्षायामको सिजनमा भिजिबिलिटी कम भएका कारण उडान स्थगन भएको थियो । मौसम सफा हुने पर्यटकको चहलपहलसमेत वृद्धि हुने भएकाले उडानलाई निरन्तरता दिइएको बताइएको छ । सीता एयरले ताप्लेजुङबाट भद्रपुरका लागि रु पाँच हजार तीन सय ८५ र काठमाडौँसम्मका लागि रु नौ हजार दुई सय ८५ भाडादर निर्धारण गरिएको इन्चार्ज खड्काले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्