झापा, माघ ३ ।झापामा जनाधार घट्दै गएपछि नेकपा माओवादी केन्द्रले संगठन नवनिर्माण अभियान संचालन गर्ने भएको छ ।

पार्टीका सबै उम्मेदवारले हार व्यहोरेको गत मंसिर ४ गतेको निर्वाचनको गंभीर समीक्षा गर्दै माओवादी केन्द्रले पार्टी सुदृढीकरणको अभियान संचालन गर्ने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाको मंगलवार बाहुण्डाँगीमा सम्पन्न तेस्रो विस्तारित बैठकले मंगलवारदेखि नै अभियान शुरु गर्ने निर्णय गरेको जिल्ला संयोजक राजु आचार्य (अग्नी)ले बताए । कार्यक्रमका प्रमुख अतिथि महासचिव देव गुरुङले अभियानको शुभारम्भ गरे । अभियानअन्तर्गत जनताको सरोकार र जनजीविकाका विषयहरु उठाउने , नमूना कृषि कार्यक्रम ल्याउने , रेल्वेप्रभावितलाई मुआब्जा दिलाउने , हात्तीपीडितको समस्या उठाउने , कृषकका आधारभूत आबश्यकतालाई पहिचान गर्न लगाई जोनहरु व्यवस्थित गर्ने ,भूमिहीन किसानलाई राहतको व्यवस्था गर्न लगाउनेजस्ता कार्य गरिने जिल्ला संयोजक आचार्यले बताए । त्यस अभियानका लागि प्रदेश , जिल्ला ,वडा र टोल कमिटी तथा जनवर्गीय कमिटीहरु खटिने उनले बताए । बैठकले गत मंसिर ४ गतेको निर्वाचनको समीक्षा गर्दै मुख्य ४ वटा कारणले गर्दा झापामा माओवादीले हार व्यहोर्नु परेको ठहर गरेको छ । आन्तरिक संगठन कमजोर हुनु , पार्टीले उपयुक्त उम्मेदवार छनोट गर्न नसक्नु , गठबन्धन दल नेपाली कांग्रेसले घात गर्नु र देशमा परिवर्तन ल्याउन माओवादीको हात रहेको कुरा जनतालाई बुझाउन नसक्नु रहेको आचार्यले जानकारी दिए ।


बैठकमा सहभागी नेताहरुले संगठनलाई थप सुदृढ बनाउन एकताका साथ अघि बढ्ने उद्घोष गरेका थिए । माओवादी केन्द्रका महासचिव देव गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा उनले पार्टीप्रति जनताको उत्साह र चाहना बढेकाले त्यही अनुसारको काम गर्नुपनमा जोड दिए ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाका संयोजक आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सचिव राम कार्की, केन्द्रीय सदस्य झलकसिंह दर्लामीलगायतले विचार राखेका थिए ।गत स्थानीय चुनावमा निर्वाचित भएका पार्टीका जनप्रतिनिधिलाई सम्मान गरिएको बैठकमा १५ वटै पालिकाका अध्यक्षहरुले सांगठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्षहरुले प्रस्तुत गरेको प्रतिवेदनमा जनतासँग प्रत्यक्ष जोडिएका पालिकाका समस्या र सरोकारका विषयहरु उठान गरिएको माओवादी केन्द्र मेचीनगर अध्यक्ष राजन चिमरियाले बताए ।


कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश नं १ कमिटीका सहायक इन्चार्ज साबित्रीकुमार काफ्ले ‘समर’, केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने, केन्द्रीय सदस्य रन्जित तामाङ, प्रदेश अध्यक्ष हर्क नेम्बाङ ‘मिक्सो’, उपाध्यक्ष विजय साम्पाङ, नेता हरिकुमार राना, प्रदेश सचिवालय सदस्य सिपी कडरिया, बोधराज दाहाल, पुरुषोत्तम चुडाल, केन्द्रीय अनुशासन आयोगका पूर्णसिंह राजवंशी, बन्दना झाँगड ‘अनिशा’ लगायतको आतिथ्यता रहेको थियो ।
माओवादी केन्द्रका जिल्ला सचिव मोहन टुडुले सञ्चालन गरेको कार्यक्रममा मेचीनगर अध्यक्ष राजन चिमरियाले स्वागत गरेका थिए । बैठकमा पार्टीका जिल्ला कमिटी सदस्य तथा जनवर्गीय संगठनका संयोजकसहित करिब ५ सय जना सहभागी थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्