झापा, माघ ४ । हात्तीको आक्रमणबाट सुनसरीको बराहक्षेत्र नगरपालिका-५ सिमरवनमा जनजागृति सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा एक वृद्धको मृत्यु भएको छ ।

वडा नं ५ का स्थानीय ६५ वर्षीय धनबहादुर माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । जङ्गलमा घाँस काट्न गएका माझीलाई मंगलबार बिहान ११ बजे हात्तीले आक्रमण गरी मारेको वडाध्यक्ष रोहित काफ्लेले जानकारी दिए । एक महिनादेखि धरान र बराहक्षेत्र नगरबीचको चारकोसे जङ्गलमा ठूलो समूहमा हात्ती आएर बस्दै आएका छन् । रातिको समयमा हात्तीको बथान नजिकैको चारकोसे जङ्गलबाट गाउँ प्रवेश गर्ने गरेको स्थानीयवासी बताउँछन् । हात्तीले मानवमाथि नै आक्रमण गर्ने भयले स्थानीयवासी भेला भएर एकै स्थानमा बस्दै आएका छन् । अठ्ठाइस वटासम्म हात्ती आफूले देखेको स्थानीयवासी महेन्द्र कार्कीले बताए । बराहक्षेत्र नगरपालिका-३ का वडाध्यक्ष राजदीप लामाका अनुसार बराहक्षेत्रका वडा नं १, २, ३ र ५ मा पर्ने चतरा , नडाहा, खोरिया, बीच पानी, विशाल चोक, सिमरवन क्षेत्रमा हात्तीले दुःख दिँदै आएको छ । वडा नं ३ मा हालसम्म दुई वटा घरमा क्षति पुर्‍याएको वडाध्यक्ष लामाले बताए । यी क्षेत्र जङ्गलसँग जोडिएको छ । वडा नं १, २, ३ र ५ मा जङ्गलसँग जोडिएका घना बस्ती पर्छ । सोही क्षेत्रमा हात्तीको त्रास रहेको छ । यी क्षेत्रका बासिन्दा रातभरि हात्ती खेदाउन जाग्राम बस्छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्