झापा , माघ ४ । काम सकिएको ठहर गर्दै नौ महिना पहिले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको पाँचथरको ‘आङ्ना-मौवा बृहत पम्पिङ खानेपानी आयोजना’को काम अझै अधुरो छ ।

उद्घाटन भएको महिनौं बितेपनि उपभोक्ताको घरमा पानी नपुग्दा यहाँका स्थानीय निराश छन् । देउवाले २०७८ चैत ७ गते भव्य कार्यक्रमकाबीच खानेपानीको उद्घाटन गरेका थिए। उद्घाटनमा देउवासहित तत्कालीन संघीय खानेपानी मन्त्री उमाकान्त चौधरी, प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो(मौसम) लगायतका नेताहरूको उपस्थिति थिए । उद्घाटन कार्यक्रममा नेताहरूले तुम्बेवाका जनताले काकाकुल जिवनबाट मुक्त हुन पाएको घोषणा गरेका थिए । तर, आयोजनाको काम अहिलेसम्म पुरा नहुँदा यहाँका मानिसले अझै पनि काकाकुल जिवन बिताउन बाध्य छन् । काम नसकी उद्घाटन गरिएकाले बाँकी रहेको काममा चासो नदिइएको स्थानीयको आरोप छ । करिब ८० प्रतिशत काम पुरा भएपछि तुम्बेवा गाँउपालिकाको मौवा बजारको एउटा धारामा पानी झारेर उद्घाटन गरिएको थियो । अहिले मौवा बजारमा मात्र हैन सोही धारामा समेत पानी झर्दैन।

देउवाले उद्घाटन गर्ने भएपछि बजारको एउटा धारामा पानी पुर्‍याइएको थियो। ‘उद्घाटन भएको महिनौ बितिसक्यो अहिलेसम्म पानी आएको छैन,’ तुम्बेवा-१ का सोमप्रसाद भण्डारीले भने ‘उद्घाटनको मोहले गर्दा आयोजनाको काम अधुरै छ।’ निर्माण कम्पनी र उपभोक्ता समितिबीचको हानथापका कारण कामले पूणर्ता पाउन नसकेको हो । ‘उद्घाटन गर्ने हतार गरेर काममा वास्ता नगर्दा समस्या भएको छ,’ स्थानीय भन्छन् ‘अझै पनि धेरै ठाँउमा काम हुन बाँकी छ। ठेकेदार कम्पनी र उपभोक्ता समितिबीच द्वन्द्व भएकाले कामले पूणर्ता नपाएको हो। उक्त आयोजना निर्माणका लागि कुल बजेटको १० प्रतिशत उभोक्ताहरूले लगानी गर्नुपर्ने हुन्छ। जसअन्तर्गत हाउस कनेक्सनका लागि उपभोक्ताले श्रमदान गर्नुपर्ने थियो। तर, समितिमार्फत् गर्नुपर्ने उक्त काम अझै पनि बाँकी छ। समितिमार्फत् गर्नुपर्ने काम नभएको हैन,’ उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र खत्रीले भने ‘हाउस कनेक्सनका लागि पाइप अपुग भएकाले काम रोकिएको हो। पाइप झिकाउने काम भइरहेको छ।’ ३४ किलोमिटरको हाउस कनेक्सनको काममध्ये १२ किलोमिटरमा काम गर्न बाँकी छ। ‘उपभोक्ता समितिले गर्नुपर्ने काम समयमै नगरेको र आवश्यक पाइप अभावले गर्दा समस्या भएको हो,’ आयोजना प्रमुख चन्द्रनारायण चौधरीले भने ‘निर्माण कम्पनीले गर्नुपर्ने अधिकांश काम सकिएको छ।’ कामले पूणर्ता पाए पनि प्राविधिक समस्याका कारण पानी बितरण गर्न रोकिएको निर्माण कम्पनीको तर्क छ। ‘केही समय उपभोक्ताको घरघरमा पानी झारेका हौं,’ निर्माण कम्पनीका मणिरत्न पौडेलले भने ‘मुहानको इन्टेकमा समस्या आएपछि अहिले पानी बितरण रोकिएको हो।’

उद्घाटनलगतै नदीमा बाढी आएर इन्टेक बिग्रिएको, बालुवा छिरेर पम्प जल्ने गरेको र विद्युत् अनियमितताले गर्दा समस्या आएको निर्माण कम्पनीले जनाएको छ। पानी छाड्नेबित्तिकै संरचनाहरू बिग्रने गरेको हो। जसले गर्दा धारा जडान गरिएका स्थानमा पनि पानी नपुगेको हो। तुम्बेवाका १६ सय ४ घरधुरीका ८ हजार मानिसलाई पानी खुवाउने उद्धेस्यले आयोजनाको काम सुरु गरिएको थियो। २०७४ असार २४ गते कन्काई प्रेरणा जेभी निर्माण कम्पनीले निर्माणको जिम्मा पाएको थियो। सम्झौता भएको ३० महिनाभित्र काम सक्नुपर्ने भएपनि पटक-पटक थपिएको समयमासमेत कामले पूणर्ता पाएको थिएन । काम सकियो भन्दै उद्घाटन गरेपछि पनि उपभोक्ताले पानी पिउन नपाएपछि स्थानीय आक्रोशित छन्। तमोर नदीको लखुवा दोभानमा मुहान थापेर तुम्बेवा गाँउपालिकाका-१ देखि ३ नम्बर वडामा खानेपानी पुर्‍याउने लक्ष्य लिएर आयोजना निर्माण गरिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्