बिर्तामोड , माघ ४ । बिर्तामोड नगरपालिका वडा नम्बर २ मा बालमैत्री स्थानीय शासन वडा समिति गठन भएको छ ।

वडालाई बालमैत्री बनाउने उद्धेश्यअनुसार बुधबार वडा कार्यालयमा एक कार्यक्रमका बीच वडाध्यक्ष किशोरकुमार पौडेलको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको हो ।
समय संजाल मिडियाको आयोजना तथा बालबालिका तथा शिक्षा संचार मञ्चको समन्वयमा कार्यक्रम भएको थियो । संस्थाका सल्लाहकार एवं शिक्षा सहकारीका अध्यक्ष सुब्रत न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा टोल विकास संस्था ,जनप्रतिनिधि ,विद्यालय प्रतिनिधि ,बालक्लब प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
नवगठित वडा समितिको सदस्यहरुमा तिला गौतम ,शर्मिला त्रिखत्री ,ओमनाथ गौतम ,चेतन बिमली ,प्रतिमा गौतम ,शारदा शिवाकोटी ,किरण पौडेल ,दिवाकर मैनाली ,लक्ष्मण दाहाल ,पुनम अधिकारी ,संगम ओली ,आसिका प्रसाई,सुब्रत न्यौपाने र सदस्य सचिवमा वडा सचिब हिमा पोख्रेल रहेका छन् ।
कार्यक्रममा मोहनमाया माध्यमिक विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठ ,वीर अमरसिंह माविका यदुनाथ अधिकारी ,प्रबिण सिटौला ,स्वास्थ्य प्रमुख प्रतिमा गौतम र बालक्लब अध्यक्ष पुनम अधिकारीले बालमैत्री वडा निर्माणमा आफ्नो सहभागिता र सहयोग रहने प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै वडाध्यक्ष पौडेलले बालबालिकाको समग्र विकासमा लाग्न आग्रह गर्दै बाल कोष स्थापना गरी बालबालिकाको हरेक समस्यामा साथ र सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे । सोही कार्यक्रममा उनले वडा र ब्यक्तिगत रुपमा ३० हजार रुपैयाँ कोषमा सहयोग गर्ने प्रतिबद्धतासमेत ब्यक्त गरेका छन् ।



