झापा , माघ ५ । नेपाल पत्रकार महासंघ युएई शाखाका सदस्य कृष्णबहादुर कुँवरमाथि नेपाल दूतावास यूएईका कर्मचारीले दुर्व्यवहार गरेका छन् ।

दूतावासका कर्मचारीद्वय डिल्लीराम शर्मा र पिआरओ इरफान आलमले दुर्व्यवहार गरेको नेपाल पत्रकार महासंघले विज्ञप्तिमार्फत जानकारी दिएको छ । पासपोर्ट नवीकरणका लागि पीडितलाई सहयोग गर्ने तथा समाचार संकलनसमेत गर्ने उद्देश्यले दूतावास पुगेका पत्रकार कुँवरलाई महासंघको परिचयपत्र देखाएर पत्रकार रहेको परिचय दिँदादिँदै पनि दूतावासका कर्मचारीद्वय शर्मा र आलमले परिचयपत्र र मोबाइल ४ घण्टासम्म नियन्त्रणमा लिएको महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कर्मचारीद्वयले स्थानीय प्रहरी बोलाएर पक्राउ गराउने धम्की दिएको विज्ञप्तिमा उल्लेख छ । नेपालबाट रोजगारी वा अन्य कुनै प्रयोजनले युएई पुगेका नेपालीहरूको समस्या र उनीहरूको आवाजलाई सम्बन्धित निकायमा पुर्‍याउन भूमिका निर्वाह गर्दै आएका नेपाली पत्रकारमाथि नेपाली दूतावासकै कर्मचारीबाट भएको यस्तो हर्कत अत्यन्त निन्दनीय र प्रेसविरोधी काम भएको विज्ञप्तिमा उल्लेख छ । महासंघले यस्ता कार्यमा संलग्न कर्मचारीमाथि कारबाहीको प्रक्रिया बढाउन परराष्ट्र मन्त्रालय र युएईस्थित नेपाली दूतावासको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्