झापा, माघ ५ । सत्ता गठबन्धनबाट एमालेका सांसद देवराज घिमिरे सभामुखमा निर्वाचित भएका छन् ।

प्रतिनिधिसभामा बिहीबार भएको निर्वाचनमा प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्दै उनी सभामुख चुनिएका हुन् ।

घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङ्देन र रवि लामिछाने थिए भने न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा प्रकाश ज्वाला रहेका थिए ।
प्रतिनिधिसभामा मत विभाजन प्रक्रियामार्फत् भएको चुनावमा घिमिरेको पक्षमा १६७ मत प¥यो । २७५ सदस्यीय प्रतिनिधिसभामा बिहीबार २६८ सांसद उपस्थित थिए । घिमिरेको विपक्षमा १०० मत प¥यो । पहिलो प्रस्तावमै घिमिरेको पक्षमा सभामुख निर्वाचित हुन आवश्यक न्यूनतम १ सय ३८ मत कटेकाले उनलाई ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले निर्वाचित भएको घोषणा गरेका हुन् ।
सभामुखको पदका लागि एमालेका घिमिरे र कांग्रेस सांसद ईश्वरी न्यौपानेले उम्मेदवारी दिएका थिए । घिमिरेलाई सभाको बहुमत प्राप्त भएपछि न्यौपानेलाई सभामुख बनाइयोस् भन्ने प्रस्तावमा मत विभाजन गरिएन । नेमकिपाका प्रेम सुवालले घिमिरेको पक्ष र विपक्षमा मत नदिई तटस्थमा मतदान गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथग्रहण गरेपछि घिमिरेले कार्यकाल सम्हाल्नेछन् ।घिमिरे झापा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

२०१५ सालको पहिलो संसद् र २०४७ सालमा प्रजातन्त्र पुनःस्थापनापछि बनेका संसद्को इतिहासअनुसार घिमिरे नेपालका नवौं सभामुख हुन् । २०१५ सालको पहिलो संसद्मा कृष्णप्रसाद भट्टराई सभामुख भएका थिए ।
२०४८ सालमा दमननाथ ढुंगाना, २०५१ सालमा रामचन्द्र पौडेल, २०५६ सालमा तारानाथ रानाभाट, २०६३ सालको अन्तरिम संसद्देखि पहिलो र दोस्रो संविधानसभामा सुवासचन्द्र नेम्बाङ, संविधान जारीपछि रुपान्तरित संसद्मा ओनसरी घर्ती, २०७४ सालको प्रतिनिधिसभाको ५ वर्षे कार्यकालमा कृष्णबहादुर महरा र अग्निप्रसाद सापकोटा सभामुख भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्