झापा, माघ ५ । हिजोका दिनमा ट्रकको खलासी हुँदा , ड्राइभर हुँदा , ३ हजारमा अर्काकोमा नोकरी गर्दा अर्जुनधारा ८ का तारा खतिवडालाई अरुले कार्यक्रम गरिरहँदा डाहा लाग्थ्यो ।

अभावमा बाँचिरहँदा कहिले आफूसंग पैसा हुन्छ र अरुलाई सहयोग गरौला भन्ने संझिन्थे । उनले त्यो सपना देखेका थिए , लक्ष्य लिएका थिए । जुन आज पूरा भएको छ । शिखर बचत तथा ऋण सहकारी संस्थाका सहसचिव ,खेलकुद महासंघका केन्द्रीय कमिटी सदस्य युवा समाजसेवी तारा खतिवडाले आफ्नो जन्मदिनमा स्थानीय चन्द्रोदय प्राथमिक विद्यालयका ७० जना विद्यार्थीलाई जाडो छल्न न्यानो लुगा वितरण गरेका छन् ।

बिहीवार एक कार्यक्रमका बीच उनले न्यानो लुगा (हाइनेक) वितरण गरेका हुन् । लुगा वितरण गर्दै उनले लक्ष्यजस्तो लिएको आफ्नो सपना पूरा भएको बताए । ‘ मैले हिजो दुख गरिरहँदा ,एउटा ट्रकको खलासी गरिरहँदा , ड्राइभर भइरहँदा , ३ हजार पैसाको लागि अर्काकोमा नोकरी गरिरहँदा अरुले गरेको कार्यक्रम हेरेर डाहा लाग्थ्यो ,मैले पनि केही गर्न पाए हुन्थ्यो , केही दिन पाए हुन्थ्यो जस्तो लाग्थ्यो ’ उनले भने ‘तर, त्यतिखेर पैसाको अभाव हुन्थ्यो, बिहान बेलुकासंगै दिउँसोको खाजा खान त गाह्रो हुन्थ्यो, मन भएर पनि अर्कालाई सहयोग गर्न सकिदैनथ्यो ।’ त्यो अबस्था र संस्कारबाट हुर्केकोले अहिले सामान्य सहयोग गर्न पाउँदा आफूलाई सन्तुष्टि मिलेको उनको भनाई छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद खातीको अध्यक्षता तथा दाता खतिवडाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको थियो । प्रधानाध्यापक टंकप्रसाद आचार्यले संचालन गरेको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष लीलाप्रसाद दुलाल , प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी , विद्यालयका अभिभावक झुमा खातीलगायतले खतिवडाले जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरेकोमा प्रशंसा गर्दै जन्मदिनको शुभकामना दिएका थिए । कार्यक्रममा शिक्षिका विष्णुमाया बस्नेतले स्वागत मन्तव्य राखेकी थिइन् । खतिवडाले सो विद्यालयलाई प्रत्येक वर्ष सहयोग गर्दै आएका छन् । शिशुदेखि कक्षा ५ सम्म पठनपाठन हुने सो विद्यालयमा ७६ जना विद्यार्थी अध्ययनरत छन् । अधिकांश दलित समुदायका विपन्न परिवारका छन् । कोरोना संक्रमणका बेला कोभिड १९ सहयोगी टीमको संयोजक बनेर उनले ६ सय २२ परिवारलाई खाद्यान्न सहयोग गरेका थिए ।