झापा , माघ ६ । जापान पठाउने नाममा ४१ जना युवाको ३ करोडभन्दा बढी रकम ठगी भएको पाइएको छ ।

ठगिनेमा मोरङका ४० र झापा एकजना छन् । ठगीमा पर्ने मोरङका ४० जना नै राजवंशी समुदायका छन् । उनीहरुलाई वैदेशिक रोजगारको नाममा ठगी धन्दा चलाएर सुनवर्षी-३ का ३६ वर्षीय अजय राजवंशीसहितको गिरोहले ३ करोड ठगी गरी फरार भएको हो । उक्त ठगीमा अजयसहित उनका भाइ रन्जित राजवंशी, बुहारी अनुराधा र चितवनका राजेन्द्र अधिकारी संलग्न रहेको पीडितहरु बताउँछन् । पीडित युवाहरू न्यायका लागि हारगुहार गर्दै प्रहरी प्रशासनदेखि रोजगार विभागसम्म पुगेका छन् । चितवनका राजेन्द्र, मोरङ सुनवर्षी-६ का अजय ठगी धन्दा चलाउने गिरोहका मुख्य नाइके रहेको पीडित बताउँछन् । उनीहरुका अनुसार राजेन्द्र र अजय जापानको गार्मेन्ट उद्योगमा काम गरेर फर्किएका थिए । अजयले उठाएको रकम लिएर मुख्य योजनाकार भनिएका राजेन्द्र पुनः जापान गएको खुलेको छ । अजयसहित उनका भाइबुहारी रन्जित-अनुराधा र बहिनी विद्या फरार छन् । पीडितहरुले वैदेशिक रोजगार विभागमा पुस २८ गते राजेन्द्र अधिकारीविरुद्ध उजुरी दिएका छन् । विभागले वैदेशिक रोजगारसँग सम्बन्धित नभई ठगी कसुर गरेको देखिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पत्राचार गरेको छ ।

मोरङको सुनवर्षी नगरपालिका-३, भेलाहीका ३६ वर्षीय मदनकुमार राजवंशी पेसाले शिक्षक हुन् । उनले विराटनगरको एक निजी विद्यालयमा अध्यापन गराउँदै आएका छन् । आफ्नै साथी अजयले जापानमा मासिक साढे २ लाख रूपैयाँ कमाइ हुने सुनाएपछि जाने भएर पैसा दिएको उनी बताउँछन् । मेनेजर पदमा जापन जाँदा १६ लाख रुपैयाँ लाग्ने भन्दै उनलाई अजयले सुनाएका थिए । यसैगरी मोरङ, कटहरी-३, हल्दीबारीका ३६ वर्षीय विवेक राजबंशीले मासिक चार लाख रुपैयाँ कमाई हुने आश्वासनमा १८ लाख रुपैयाँ अजयलाई बुझाएका थिए । उनले चार किस्ता गरी १८ लाख रुपैयाँ अजयले भनेकै व्यक्तिको नाममा बैंकमा जग्मा गरेको भौचर राखेका छन् । स्नातक उत्तीणर् गरेका विवेकलाई पनि जापानमा मेनेजरमा पठाउने भनेका थिए । ‘जग्गा धितो राखेर ऋण खोजेर पैसा बुझाएँ,’ उनले विराटनगरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘अहिले आएर विदेश पठाउने आश्वासन दिएको अजय नै सम्र्पकविहीन भएको छ ।’

झापा, कनकाई-१ का भवानीप्रसाद अधिकारीले आठ लाख रुपैयाँ बुझाएको बताए । ऋण काढेर वैदेशिक रोजगारको नाममा पठाएको पैसा कसरी फिर्ता ल्याउने र कसरी ऋण तिर्ने भन्ने चिन्ताले सताएको उनले सुनाए । वैदेशिक रोजगारको क्रममा ठगिएका युवाहरुले विभिन्न निकायहरु जाँदा पनि न्याय पाउन ढिलो भएको गुनासो गरेका छन् । वैदेशिक रोजगारीमा जान चाहनेहरू मोरङमा ठगिने क्रम बढेको छ । एकै व्यक्तिबाट धेरै जना ठगिएका उजुरी आउने क्रम बढेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । रोजगारको क्रममा ठगिएको उजुरी आए वैदेशिक रोजगार ऐन, २०६४ ले दिएको अधिकार प्रयोग गरेर कारबाहीको दायरामा ल्याउने उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्