झापा, माघ ७ । झापाको दक्षिणी पालिकाहरूमा बढ्दो जंगली हात्ती आतंक रोकथामका लागि स्थानीय जनप्रतिनिधिहरूले प्रदेश सरकारसमक्ष गुहार मागेका छन्।

जंगली हात्ती नियन्त्रणको माग राख्दै कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रसिंह राजवंशीको नेतृत्वमा गएको टोली शुक्रबार विराटनगरस्थित प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेको थियो ।

सो टोलीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दिनहुँ हात्तीबाट भइरहेको जनधनको क्षतिको बारेमा ध्यानाकर्षण गराउँदै गाउँपालिकाको तर्फबाट १० बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ ।
गाउँपालिका अध्यक्ष राजवंशी, उपाध्यक्ष नवराज भट्टराई, पूर्व प्रदेश सांसद वसन्तकुमार बानियाँलगायतले मुख्यमन्त्री कार्कीलाई सो ज्ञापनपत्र बुझाएका हुन्।

कचनकवल, बाह्रदशी, भद्रपुर र हल्दिबारी पालिकासँग जोडिएको जैविक विविधता बोकेको चारकोशे जलथल जंगल वरिपरि मानव बस्ती रहेको छ। २२ वटा सामुदायिक वन रहेको सो जंगलभित्र एक दर्जनबढी रैथाने जंगली हात्ती दिनहुँजसो मानव बस्तीमा प्रवेश गरी अन्नबालीसँगै जनधनको क्षति पु¥याउँदै आएको छ।
जलथल जंगलमा लगाइएको सौर्य विद्युतीय तारबार लामो समयदेखि मर्मत सम्भार हुन नसक्दा हात्ती नियन्त्रणमा चुनौती थपिएकोमा गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

त्यसैले हात्ती नियन्त्रण, संरक्षण र दिगो व्यवस्थापनका लागि प्रदेश सरकारबाट दीर्घकालीन योजना निर्माण गरी समस्या समाधानका लागि बुँदागत रूपमै मागहरू पेस गरिएको गाउँपालिकाका अध्यक्ष राजवंशीले जानकारी दिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्