झापा, माघ ७ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट इन्दिरा रानामगर उपसभामुखमा निर्वाचित भएकी छन् ।

शनिबार प्रतिनिधिसभामा भएको निर्वाचनमा उनले प्रतिस्पर्धी नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवलाई पराजित गरेकी हुन् ।

रानाको प्रस्तावकमा सोविता गौतम र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन थिए । मत विभाजनको प्रक्रियाबाट भएको निर्वाचनमा राना १६६ मतसहित निर्वाचित भएकी हुन् । उनको विपक्षमा यादवलाई ९७ जना सांसदको समर्थन रहेको थियो । यस्तै तटस्थ १ मत परेको थियो । शनिबारको प्रतिनिधिसभामा २६४ सांसदको उपस्थिति थियो ।

रास्वपाकी सोविता गौतमलाई उपसभामुख बनाउने प्रारम्भिक चरणमा चर्चा भए पनि सत्ता साझेदार दलहरूले रानामगरलाई उपसभामुख बनाउने निर्णय गरेका थिए ।
लामो समय सामाजिक क्षेत्रमा क्रियाशील झापा अर्जुनधारा निवासी रानामगरको राजनीतिक यात्रा नयाँ हो । गत मंसिर ४ गतेको निर्वाचनअघि मात्रै उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएर राजनीति सुरु गरेकी हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई समानुपातिकतर्फबाट सांसद बनाएको थियो । सयौं बालबालिकालाई पालनपोषण र शिक्षादीक्षा दिएर रानामगरले समाजसेवाको क्षेत्रमा प्रसिद्धि कमाएकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्