झापा, माघ ८ । झापाको सुरुङ्गामा आयोजित तेस्रो प्रदेशस्तरीय कनकाई कप पुरुष भलिबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले हात पारेको छ ।

हिजो कनकाई माविको खेलमैदानमा भएको फाइनल खेलमा दमक नगरपालिकालाई ३— ० को सोझो सेटमा हराउँदै झापा गाउँपालिका यस वर्ष प्रदेश च्याम्पियन बनेको हो । उपाधिसँगै झापा गाउँपालिकाले नगद १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको दमक नगरपालिकाले नगद ६१ हजारमा चित्त बुझाएको छ ।

स्थानीय सुरुङ्गा जेसीजद्वारा आयोजित यस प्रतियोगिताको अघिल्लो संस्करणमा समेत यी दुवै टिम फाइनलमा पुगेका थिए । अघिल्लो संस्करणमा झापा गाउँपालिका दमकसँग पराजित भएको थियो । यो जीतसँगै झापा गाउँपालिकाले दमकसँगको पराजयको बदला समेत लिएको छ । फाइनल खेलको म्यान अफ द म्याच झापाका रबिन गौतम घोषित भए । उनले नगद एक हजार हात पारे । यसैगरी प्रतियोगिताकै उत्कृष्ट ब्लकर झापाकै रोहित सिवाकोटी भए भने उत्कृष्ट स्पाईकर झापाका समिप श्रेष्ठ, उत्कृष्ट क्वीकर दमकका पुकार तामाङ र उत्कृष्ट लिफ्टर दमककै राजन लिम्बू घोषित भए । उनीहरुले जनही ५ हजारका दरले पुरस्कार पाए । त्यस्तै सर्वोत्कृष्ट खेलाडीको उपाधि पाएका झापा गाउँपालिकाका विष्णु बस्नेतले २४ इन्चको रंगीन टीभी पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताका विजेता तथा उपविजेतालाई प्रमुख अतिथि प्रदेश सरकारका उद्योग कृषि तथा सहकारी मन्त्री भक्ति सिटौला, झापा गाउँपालिकाका प्रमुख जयनारायण शाह, उपाध्यक्ष अन्जुदेवी थपलिया, कनकाई नगरपालिकाकी उपप्रमुख आशा सिवाकोटीलगायतले पुरस्कार र नगद प्रदान गरेका थिए ।
माघ ३ गते सुरु भई ७ गते समापन भएको प्रतियोगितामा कनकाई नगर खेलकुद विकास समिति सह–आयोजकको रुपमा रहेको थियो । प्रतियोगितामा झापासहित मोरङ र इलाम गरी तीन जिल्लाका ८ टिमले भाग लिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्