झापा , माघ ८ । कालीमाता मठमन्दिर ब्यवस्थापन समिति बिर्तामोड –९ नडियाबारीको आयोजनामा बिर्तामोड –३ स्थित आदर्श चोकमा फोहोर फ्याल्ने डस्टविनको व्यवस्था गरिएको छ ।

हल्दिवारी जाने सडकको चोक दुर्गन्धित नबनोस् भनेर प्लाष्टिकजन्य फोहोर व्यवस्थापनका लागि आदर्श चोकमा डस्टविनको व्यवस्था गरिएको मन्दिर समितिका अध्यक्ष युवराज रोक्काले बताए । उनले त्यस किसिमको डस्टविन यसअघि काली मन्दिर अगाडि पनि राखिएको जानकारी दिए । हिजो बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीले आदर्श चोकमा राखिएको डस्टविनको उद्घाटन गरे । कार्यक्रममा मन्दिर समितिका उपाध्यक्ष रविन बुढाथोकी ,सचिव जगत कटुवाल, सदस्य गणेश उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।

यसैबीच सो समितिले बिर्तामोड बजारको फोहोर धौला पुल पश्चिम बिर्तामोड – भद्रपुर सडकको उत्तरपट्टी नालामा फ्यालेकोमा आपत्ति जनाएको छ । बिर्तामोड नगरपालिकाले नियमित रुपमा फोहोर संकलन गर्दै आएकोमा नगरपालिकाको ट्रयाक्टरलाई फोहोर दिन नसकेर राति सार्वजनिक बाटो, पैनीमा फोहोर फ्याल्ने जोकोही भएपनि कार्वाही गर्न समितिले माग गरेको अध्यक्ष रोक्काले बताए । उनले बजारको फोहोर गाउँमा फ्याल्ने बजारवासीहरुलाई असभ्य र फोहोरी व्यवहार नगर्न आग्रह गरेका छन् । हिजो वडाध्यक्ष बुढाथोकीको अगुवाईमा बाटोमा फ्यालिएको ती फोहोर आगो लगाएर नष्ट गरिएको थियो । धौला पुल नजिक फोहोर फ्याल्ने गलत क्रियाकलाप बढेपछि त्यसलाई नियन्त्रण गर्न आफूहरुले टोलबाट रात्रिकालीन गस्ती थाल्ने अध्यक्ष रोक्काले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्