झापा , माघ ८ । ऐतिहासिक विराटपोखरी रहेको बिर्तामोड ३ स्थित विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिको अध्यक्षका लागि तीनजनाले उम्मेदवारी दिएका छन् ।

समितिको हिजो भएको छैठौं अधिवेशनमा वर्तमान अध्यक्ष इन्द्रप्रसाद प्रसाई , आकाश उप्रेती र इन्द्रनारायण प्रसाईले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । त्यस्तै अन्य पदमा पनि एकभन्दा बढीले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा मनप्रसाद उप्रेती र मीना पाठक , सचिवमा दिपेश प्रसाई र पुनम प्रसाई , सहसचिवमा नैनकला थापा र अर्जुन उप्रेती तथा कोषाध्यक्षमा हेमचन्द्र अधिकारी र दिनेश मैनालीले उम्मेदवारी दिएका छन् ।

नयाँ नेतृत्व चयनका लागि ध्रुवकुमार शिवाकोटीको संयोजकत्वमा कृष्ण बिमली ,पर्शुराम कडरिया , टिकेन्द्र थापा र ठाकुर उप्रेती सदस्य रहेको निर्वाचन समिति गठन भएको छ । समितिले हिजो दिनभर सर्वसम्मतको प्रयास गर्दा नसकेपछि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । माघ १३ गते शुक्रवार उम्मेदवारी दर्ता , दावी विरोध , उम्मेदवारी फिर्ता र त्यसको भोलिपल्ट निर्वाचन गराउने कार्यक्रम रहेको संयोजक शिवाकोटीले बताए ।

समितिका अध्यक्ष प्रसाईको अध्यक्षतामा भएको अधिवेशनलाई प्रदेश सांसद एकराज कार्कीले उद्घाटन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि कार्की , बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी , नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष मोहन सुब्बालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा अध्यक्ष प्रसाईले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्