एजेन्सी । अमेरिकी न्याय मन्त्रालयको टोलीले राष्ट्रपति जो बाइडेनको डेलावेयरस्थित घरबाट अन्य ६ गोपनीय दस्तावेज फेला पारेका छन् ।

गत शुक्रबार विलमिङ्टनस्थित उनको अर्को घरबाट पनि यस्तै केही दस्तावेज फेला परेको थियो । यी दस्तावेजहरू बाइडेन उपराष्ट्रपति र सिनेटर भएको समयको भएको बताइएको छ । अनुसन्धानमा खटिएका वकिल बब बावरका अनुसार फेला परेका दस्तावेजहरूमा राष्ट्रपति बाइडेन आफैँले लेखेका कागजात र अन्य महत्वपूणर् सामग्री रहेका छन् । १३ घण्टा लामो छानबिनका लागि राष्ट्रपति बाइडेनले अनुमति दिए पनि आफू भने उक्त समय घरमा नभएको बीबीसीले लेखेको छ । वकिल बबले भने‚ ‘राष्ट्रपतिले आफू उपराष्ट्रपति रहँदा आफूसँग सम्बन्धित र सम्भवतः गोपनीय कागजात अनुसन्धान गर्नका लागि अनुमति दिएका छन् ।’ गत नोभेम्बर २ मा पेन बाइडेन सेन्टरमा यस्तै किसिमका अन्य दस्तावेजसमेत मिलेको बाइडेका वकिलको भनाइलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । त्यस्तै गत डिसेम्बर २० र जनवरी १२ मा पनि विभिन्न दस्तावेजहरू फेला परेको थियो । राष्ट्रपतिको टिमका अनुसार फेला परेका दस्तावेज नेसनल अर्काइभ्स र न्याय मन्त्रालयलाई जिम्मा लगाइसकिएको छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पनि अहिले सयौं त्यस्ता गोपनीय दस्तावेजलाई गलत तरिकाले राखेको भन्दै अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्