झापा , माघ ८ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख स्ट्राकर अन्जन विष्ट आई लिग खेल्न भारत गएका छन् ।

अञ्जन मम्बई केन्क्रे एफसीसँग अनुबन्ध भएका हुन् । अन्जनलाई केन्क्रेले जारी सिजनको बाँकी खेलका लागि अनुबन्ध गरेको बताइएको छ । आई लिगका लागि अञ्जन शनिबार मुम्बई गएका हुन् । अन्जनले पहिलो पटक नेपाल बाहिरको लिग खेल्न लागेका हुन् । “ नेपालका स्ट्रार अन्तर्राष्ट्रिय खेलाडी अब हाम्रो परिवारमा सामेल भएका छन्,” अञ्जनलाई छत्रपति शिवजी अन्तर्राष्ट्रिय रंगशालामा स्वागत गरेको तस्बिर राखेर केन्क्रे एफसीले सामाजिक सञ्जाल फेसबुकमा राखेको छ । केन्क्रे एफसी अहिले आई लिगको ११औँ स्थानमा छ । आई लिगमा १२ टिमले प्रतिस्पर्धा गर्छन् । पुछारको दुई टिम रेलिगेशन हुन्छन् । प्रतियोगितामा अब दश खेल बाँकी छ । नेपालका कप्तान किरण चेमजोङ पनि भारतकै आई लिग खेलिरहेका छन् । किरणले पञ्जाब एफसीबाट खेलिरहेका छन् । किरणको टिम पञ्जाब अहिले लिगको दोस्रो स्थानमा छ । अञ्जन यसै वर्ष सहिद स्मारक ‘ए’ डिभिजन लिगमा नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडसँग अनुबन्धित भएका थिए । अञ्जन मनाङ मस्र्याङ्दी छाडेर चर्च ब्वाइज युनाइटेडसँग अनुबन्धित भएका हुन् । आई लिगमा अञ्जनको टिम केन्क्रेको अन्तिम खेल २ मार्चमा रियल कास्मिर एफसीविरुद्ध छ । त्यसपछि उनी नेपालको लिग खेल्न फर्किने चर्च ब्वाइजले जनाएको छ । नेपालमा ‘ए’ डिभिजन लिग फागुन १९ गते (३ मार्च)बाट सुरु हुनेछ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्