बिर्तामोड,माघ ८ । झापाको बिर्तामोडमा सोनाम ल्होछार पर्व धुमधामसाथ मनाइएको छ ।

मञ्जुश्री संवतअनुसार २८५९ औं सोनाम ल्होछार पर्वको अवसरमा बिर्तामोडको नमोः बौद्ध गुम्बामा भव्य कार्यक्रम आयोजना गरिएको थियो ।
सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदानसहित खुल्ला नृत्य प्रतियोगिता आयोजना गरिएको थियो । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउने गरिन्छ । मुसा, गाई, बाघ, बिरालो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

२८५९ औं सोनाम ल्होछार पर्व मुल समारोह समितिका अध्यक्ष गोविन्द गोङबाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अध्यक्ष गोङबाले कार्यक्रमको औचित्यसंगै ल्होछार पर्वको बारेमा प्रकाश पारेका थिए । प्रमुख अतिथि सांसद कार्कीले ल्होछार पर्व नेपालीहरुको सद्भावको पर्व भएको भन्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बिशेष अतिथि प्रदेशसभा सदस्य कमला थापा मगरले पनि शुभकामना मन्तव्य राखेकी थिइन् । ल्होछार पर्व समारोहमा जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता रोक्का ,बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, ३ नम्बर वडाका वडाध्यक्ष मदन बुढाथोकी, ४ नम्बर वडाका वडाध्यक्ष राहुल शर्मा, ५ नम्बर वडाका वडाध्यक्ष रोहित प्रसाईलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा मुल आयोजक समारोह समिति सदस्य फुलमाया तामाङले स्वागत मन्तव्य राखेकी थिइन् ।

खुल्ला नृत्य प्रतियोगितामा प्रथम हुने कलाकार साईना तामाङ, दोस्रो हुने कलाकार पुजा तामाङको टिम र तेस्रो हुने कलाकार श्रीया पौडेललाई नगद तथा ट्रफिसहित पुरस्कृत गरिएको मुल समारोह समिति सांस्कृतिक विभाग प्रमुख तथा नेपाल तामाङ महिला घेदुङ विर्तामोड नगर अध्यक्ष हेमकला भण्डारी योेञ्जनले जानकारी दिइन् । उनका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ हजार, दोस्रो हुनेलाई ३ हजार र तेस्रो हुनेलाई नगद २ हजार प्रदान गरिएको थियो ।

तामाङ समुदायको नयाँ वर्षको सुरुवातको दिनको रुपमा मनाईने पर्वमा झाँकी प्रदर्शन गर्ने कलाकारहरु सामन तामाङ र सरला तामाङलाई पनि ट्रफिसहित पुरस्कृत गरिएको भण्डारीले जानकारी दिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्