झापा , माघ ९ । धनुषाको जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका-८ का २१ वर्षीय रोहित साह र वडा नं १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको हो । दुवैजना गत पुस २७ गतेदेखि बेपत्ता थिए । सम्पर्कविहीन भएका उनीहरु एउटै परिवारका हुन । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने एक नातेदारको घर गएका थिए । गत सोमबार विष्णुका परिवारलाई भारतीय नम्बरबाट अपहरणकारीले रु ५० लाख रकम माग गरेका थिए । विष्णुको परिवार अपहरणकारीलाई रु २० लाख दिन सहमत भएको उनको परिवारका एक सदस्यले बताए । अपहरणकारीले रु २० लाख लिएर सर्लाहीको मलङ्गवा नजिक नेपाल-भारत सीमा क्षेत्रमा बोलाएका थिए । यसबारे विष्णुको परिवारले प्रहरीलाई जानकारी गराएको थियो । “हामीले यसबारे भारतीय प्रहरीलाई खबर गर्‍यौँ”, धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले भने- “भारतीय प्रहरीले दुई शव भेटेपछि आईतबार हामीलाई खबर गरेको हो ।” भारत बिहारको सीतामढीमा खाडलमा गाडिएको अवस्थामा दुवैजनाको शव फेला परेको डिएसपी क्षेत्रीले बताए । हत्यामा संलग्न भएको आशङ्कामा भारतीय प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीले पनि अन्य दुईजनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको डिएसपी क्षेत्रीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्