बिर्तामोड, माघ ९ । बिर्तामोड नगरपालिकाको श्रमिक हित कोषको तर्फबाट सोमवार एक जना श्रमिकलाई राहत प्रदान गरिएको छ ।

केही महिनाअघि देउनिया पुलमा भएको ट्रक दुर्घटनामा परी घाईते भएका बिर्तामोड नगरपालिका वडा नम्बर २ का बुधलाल राजवंशीलाई नगद ५० हजार रुपैयाँ राहत प्रदान गरिएको हो ।

राजवंशीलाई श्रमिक हित कोषका संयोजक तथा बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईले उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन् । राजवंशी इटा ढुवानी मजदुर हुन् । बिर्तामोडमा नगरपालिकाले जारी गरेको श्रमिक सञ्चालन कार्यविधि २०७५ अनुसार श्रमिक हित कोष सञ्चालनमा छ । यस कोषबाट राहत पाउनको लागि श्रमिक सूचीकृत हुनुपर्ने व्यवस्था रहेको कोषका सचिव तथा नगरका रोजगार शाखा संयोजक होमनाथ भट्टराईले जानकारी दिए।

बिर्तामोड नगरपालिकाको यस कोषमा हालसम्ममा १ हजार २ सय ९६ जना सूचीकृत रहेको जनाइएको छ । यस कोषमा सूचीकृत हुने मजदुरहरुको सामूहिक बिमा हुने गरेको छ । यस बिमाबाट श्रमिकको मृत्यु भएमा ७ लाख रुपैयाँ र कार्यस्थलमा दुर्घटना भई घाइते भएमा अधिकतम ७० हजार रुपैयाँ पाउने व्यवस्था छ । बिर्तामोडमा निर्माण मजदुर, ढुवानी मजदुर, यातायात क्षेत्रका मजदुर र विद्युत तथा रंगरोकन क्षेत्रका मजदुरहरु सूचीकृत छन् ।
राहत चेक हस्तान्तरण कार्यक्रममा कोषका सदस्य अम्बिरकुमार लिङ्देन,भुपाल सापकोटा, सीता सापकोटा, गोकुल राजवंशीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्