झापा, माघ १० । झापाको कचनकवल गाउँपालिकामा एउटै पासो लगाई दुई युवायुवतीले झुन्डिएर आत्महत्या गरेका छन् ।

कचनकवल गाउँपालिका वडा नं ४ केचनाको खुट्टामुनिमा रहेको एभरेष्ट चिया बगानमा सिरिसको रुखमा पासो लगाई स्थानीय २५ वर्षिय राजेशकुमार गणेश र १८ वर्षिया पवित्रा राजवंशीले आत्महत्या गरेका हुन् । उनीहरुले माछा मार्ने नाइनलको जालको डोरी बनाई पासो लागेको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले बताए । युवतीलाई सिदुरपोते लगाइदिएर उनीहरु झुन्डिएका हुन् ।

गत वर्ष उनीहरुले भागी विवाह गरेका थिए । ती युवती गणेशको घरमा करिव ५ वर्ष संगै बसेकी थिइन् । तर , युवतीका अभिभावकले छोरी नाबालिका भएको भन्दै आफ्नो घर फर्काएको उपाध्यक्ष भट्टराईले बताए । दुवैजनाले झुन्डिएर आत्महत्या गरेपछि केटा र केटी पक्षबीच विवाद चलेको बताइएको छ ।

यसअघि गत साउनमा कचनकवल –५ स्थित दल्लेगाउँ नजिकैको सुनकोसी चिया बगानसँगै बगेको झिङ खोलाको किनारस्थित बयरको रूखमा सोही ठाउँका तीनजना किशोरीले झुन्डिएर आत्महत्या गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्