एजेन्सी । बलिउड स्टार शाहरुख खानको फिल्म ‘पठान’ को सुरुवात धमाकेदार भइरहेको छ । फिल्मलाई लिएर फ्यान र समीक्षकहरु निकै उत्साहित देखिएका छन्।

बलिउडमा ‘किङ खान’ भनिने शाहरुख खान चार वर्षपछि ठूलो पर्दामा फर्किएका छन् । सिनेमा हलमा पुग्नुअघि नै यो चलचित्र निकै चर्चामा थियो । बुधबार रिलिज भएको चलचित्र ‘पठान’ यो वर्षकै सबैभन्दा धेरै हिट हुने चलचित्र समीक्षकहरुले बताएका छन् । केहीले फिल्मको प्लटको आलोचना गर्दै यसलाई अनावश्यक र हास्यास्पद भनेका छन् तर बाँकी भने शाहरुख खान पर्दामा आफ्नो जादु फैलाउन सफल भएको बताएका छन् । फिल्म समीक्षक शुभ्रा गुप्ताले इन्डियन एक्सप्रेसमा लेखेकी छिन्, ‘बलिउड इज ब्याक । शाहरुख खान इज ब्याक ।’ पठानमा दीपिका पादुकोण र जोन अब्राहम जस्ता स्टार पनि मुख्य भूमिकामा छन् । यो फिल्म पठान पात्रको कथामा आधारित छ, जसको भूमिकामा शाहरुख खान छन् । फिल्ममा, पठान एक गोप्य मिशनमा छन् जसको काम एक चरमपन्थी समूहलाई भारतमा आक्रमण गर्नबाट रोक्नु हो । युट्युबमा फिल्मको ट्रेलर पाँच करोडभन्दा बढीले हेरिसकेका छन् । फिल्म समीक्षक तरण आदर्शका अनुसार यो फिल्म विश्वभर ८ हजार स्क्रिनमा रिलिज भएको हो, जुन बलिउड फिल्मका लागि सबैभन्दा ठूलो ओपनिङ हो । प्रख्यात फिल्म ट्रेड समालोचक कोमल नाहटाले भारतमा पठानको पहिलो दिन ५७ करोडको व्यापार भएको बताए । उनले ट्वीट गरेका छन्, ‘यो कुनै पनि हिन्दी फिल्मको सबैभन्दा ठूलो ओपनिङ हो । त्यो पनि जब कुनै छुट्टी थिएन र फिल्मको कुनै सिक्वेल पनि थिएन ।’ चलचित्र हेर्न गएका दर्शकहरुको मिश्रित प्रतिकृया देखिएपनि सामान्यतया चलचित्रबाट मानिसहरु सन्तुष्ट देखिन्थे।

एक दर्शकले बीबीसीलाई भने, ‘शाहरुख खानको अभिनय, सलमान खानको एन्ट्री र दीपिकाको उत्कृष्ट नृत्य सबै राम्रो थियो । यो पूणर् पारिवारिक फिल्म हो जसलाई बालबालिकादेखि वृद्धसम्म सबैले हेर्न सक्छन् ।’ अर्का दर्शकले भनेका छन्, ‘फिल्मका सबै संवाद निकै राम्रा थिए र अन्त्यमा यो पनि संकेत दिइएको छ कि सलमान खानको फिल्ममा शाहरुख पनि देखिन सक्छन् ।’ यद्यपि केही दर्शकलाई पटकथा र संवाद मन परेन । यस्तै एक दर्शकले भने, ‘यो औसत फिल्म हो । यसमा मान्छेहरू सुन्दर देखिन्छन् तर फिल्म त्यति सुन्दर बन्न सकेको छैन । कथा, स्क्रिन प्ले राम्रो छैन, असाध्यै छिटो चल्ने फिल्म हो यो ।’ तर, चलचित्रको मागलाई ध्यानमा राखेर थप शोको व्यवस्था गर्नुपरेको सिनेमा हल सञ्चालक बताउँछन् । बुधबार शाहरुख खानले ट्वीट गर्दै उत्तर भारतमा कोभिड-१९ को समयमा बन्द गरिएका २५ सिंगल स्क्रिन सिनेमा हल ‘पठान’ देखाउन पुनः खोलिएको बताए । यति मात्र होइन पठानले अग्रिम बुकिङको मामलामा पनि कीर्तिमान बनाएको छ । टिकटिङ प्लेटफर्म बुक माइ शोले समाचार एजेन्सी पीटीआईलाई दिएको जानकारीमा फिल्मलाई दर्शकहरूको प्रतिक्रिया अतुलनीय भएको र सोमबारसम्म १० लाख भन्दा बढी टिकट बुक भइसकेको बताएको छ । अहिलेसम्म फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ ।

चलचित्र समीक्षक के भन्छन् ?
शुभ्रा गुप्ता भन्छिन्, ‘फिल्ममा नन-स्टप एक्शन, ग्ल्यामरस स्टारका अलावा विश्वलाई जोगाउन सक्ने नायक पनि मुख्य भूमिकामा छन् । मुटुको धड्कन बढाउनुको साथसाथै यसमा भावुक दृश्य पनि देखिन्छन् ।’ फिल्म समीक्षक दीपाञ्जन पालले लेखेका छन्, ‘रोमान्टिक नायकको ठाउँ अब एक परिपक्व र कठोर व्यक्तिले लिएका छन्, जो परिस्थितिले जुनसुकै हालतमा आफ्नो जिम्मेवारी पूरा गर्न कटिबद्ध छन् ।’ यद्यपि कतिपयलाई फिल्मका केही भागहरू बुझ्न नसकिने र काल्पनिक जस्तो लागेको छ । मिन्ट लाउन्ज अखबारमा उदय भाटियाले यो जासुसी फिल्ममा मनोरञ्जनको अंश यति धेरै रहेको लेखेका छन् कि यो मुर्खताको हदसम्म जाने गरेको बताएका छन् । चलचित्र समालोचक नन्दिनी रामनाथले भनेकी छिन्, ‘फिल्ममा एउटा यस्ते पनि पल आउँछ जब स्टन्ट यति परिचित लाग्छन् कि पटकथासँगै छोड्दै जानुपर्छ र थ्रिल आफैँ खतरामा परेको देखिन्छ ।’ उनले स्क्रोलमा लेखेका छन्, ‘तर जतिबेला पठानमा एक्सन सीन आउँछ र पटकथा लेखक अब्बास टायरवालाको जोडदार डायलग हिरोले बोल्छन् तब फिल्म आफ्नो ट्र्याकमा फर्कन्छ ।’ यो फिल्मलाई लिएर फ्यानहरुको क्रेज पनि कम छैन । सिनेमा हलका धेरै भिडियोमा शाहरुखलाई पर्दामा देखेर फ्यानहरु खुसीले नाच्दै र उफ्रदै गरेको देख्न सकिन्छ ।

पहिलो दिनमै सय करोड पार
फिल्मको प्रोडक्सन हाउस यशराज फिल्म्सका अनुसार हिन्दी संस्करणको रिलिजले पहिलो दिन ५५ करोड र भारतका अन्य भाषामा २ करोड रुपैयाँ कमाएको छ । जबकि ओभरसिज स्क्रिनिङले ४.५ मिलियन डलर (लगभग ५८ करोड रुपैयाँ) कमायो । पठानको वर्ल्ड वाइड ओपनिङ डे रेकर्डले सबै हिन्दी फिल्मलाई पछि पार्दै पहिलो दिन १०६ करोड भारु कमाएको थियो । शाहरुख खानका नजिक रहेका फिल्म निर्देशक करण जोहरले सय करोड पार गरेकोमा ‘पठान’को सम्पूणर् टिमको तारिफ गरेका छन् । रईसमा शाहरुख खानसँग काम गरेका जिशानले लेट नाइट शो हेरे जसमा ९५ दर्शक उपस्थित थिए । उनले भने, ‘जोन अब्राहमले आफ्नो भूमिकामा उत्कृष्ट अभिनय गरेका छन् । सम्पूणर् टिमलाई बधाई छ ।’ कमल हसनले शाहरुख खानलाई ट्याग गर्दै ट्वीट गरेका छन्, ‘पठानको बारेमा राम्रो रिपोर्ट आइरहेको छ ।’

किन विरोध ?
तर फिल्म सुरुदेखि नै विवादमा फसेको थियो र बुधबार केही राज्यमा प्रदर्शनका क्रममा तोडफोडका घटना पनि सार्वजनिक भएका छन् । कर्नाटकको बेलगावी जिल्लामा फिल्मको प्रदर्शन रोक्ने र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको आरोपमा ३० जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । हरियाणामा दक्षिणपन्थी समूहविरुद्ध एउटा मलमा पोस्टर च्यातेकोमा मुद्दा दर्ता गरिएको छ । रिलिज हुनुअघि नै ‘पठान’ कट्टरपन्थी हिन्दू समूहको आक्रमणमा परेको थियो । यसको गीत बेशरमले दीपिका पादुकोणको बिकिनीको रङमा पनि धेरै विवाद भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्