कुमरखोद, माघ १४ । झापा गाउँपालिकाका दुई सहकारी संस्थाले एक व्यक्तिलाई रासायनिक मल बिक्री वितरण गर्न दिएका छन् ।

झापा गाउँपालिका वडा नं २ मा रहेका पिछडा उत्थान कृषि सहकारी र श्री सहकारी संस्था (साझा ) दुवैले रासायनिक मल बिक्री गर्न व्यक्तिलाई जिम्मेवारी दिएका हुन् । दुवै संस्थाले रासायनिक मल बिक्री गर्न दिएको व्यक्तिसँग धरौटी लिएका छन् । रासायनिक मल बिक्री गर्न लिलु अग्रवालले पिछडा उत्थान कृषि सहकारीलाई धरौटी ५० हजार र श्री सहकारी संस्था (साझा ) लाई १ लाख १५ हजार रुपैयाँ बुझाएका छन् । ती व्यक्तिले रासायनिक मल बिक्री गरेवापत संस्थालाई प्रतिबोरा २५ रुपैयाँ कमिसन बुझाउने गरेका छन् । किसानले खेतमा छर्नका लागि रासायनिक मल पाउँदैनन् तर, यहाँ एक व्यक्तिलाई संस्थाको सम्पूर्ण रासायनिक मल बिक्री गर्न जिम्मा दिईएको छ । अग्रवाल पेशाले व्यापारी हुन् । उनले झापा बजारमा बिजुली पसल संचालन गरेका छन् ।

अग्रवालले रासायनिक मल बेच्नुभन्दा पहिला नै किसानसँग अग्रिम रकम उठाउँछन् र त्यसपछि मल दिन्छन् । धेरै किसानसँग अग्रिम रकम उठाएर पनि रासायनिक मल नदिएको गुनासो छ । झापा गाउँपालिका वडा नं २ बस्ने मोहन कार्की र देवनारायण शाहले रासायनिक मलको लागि १५ महिना अगाडी रकम बुझाएका थिए तर, उनीहरुले केहि दिनअघि मात्र मल पाएका छन् । किसान शाह भन्छन् –रासायनिक मल संस्थाले बेच्नु पर्नेमा व्यक्तिलाई दिएका छन् । उक्त व्यक्तिले मनपरी तरिकाले बेचविखन गरिरहेको गुनासो छ ।

त्यसैगरी झापा गाउँपालिका वडा नं ४ का पवित्र वर्मन र वडा नं २ का अनन्त कोचले रासायनिक मलका लागि अग्रवालले अग्रिम रकम लिएपनि अहिलेसम्म रासायनिक मल नदिएको गुनासो गरेका छन् । कोच पिछडा उत्थान कृषि सहकारीका सल्लाहकार सदस्य हुन् । उनले एक व्यक्तिलाई संस्थाको रासायनिक मल बेचविखन गर्न दिनु संस्थाको गैरजिम्मेवारी भएको बताए । त्यसैगरी अर्का सल्लाहकार सदस्य राजकुमार महत्तोले पनि रासायनिक मल संस्था आफैले बेच्नुपर्ने भन्दै अन्य व्यक्तिलाई दिनु गैरजिम्मेवारी भएको बताए ।

रासायनिक मलको कालावजारी
कृषि सहकारीमा रासायनिक मल किन्न कोही गयो भने मल पाउँदैनन् । तर, कुनै केरियरवालालाई अर्डर गरे अनुदानको रासायनिक मल चर्को मूल्य लिएर घरमै ल्याई दिन्छन् । अधिकाँश किसानहरु नेपालकै रासायनिक मल चर्को मूल्यमा किन्न बाध्य छन् । झापा गाउँपालिका वडा नं ४ का किसान जलाल अलि भन्छन् – मैलै मकै खेती १० विगाह क्षेत्रफलमा गरेको छु तर, हामी किसानहरु कृषि सहकारी संस्थामा किन्न जाँदा मल पाउँदैनौ तर केरियरवालाहरुले प्रतिवोरा ९४५ पर्ने युरिया मल १ हजार ५ सय र २ हजार ३ सय ९६ रुपैयाँ पर्ने डिएपी ३ हजार ५ सय रुपैयाँमा घरमै ल्याई दिन्छन् । त्यसैगरी वडा नं ४ का अर्का किसान यासिन आलमको भनाई पनि उस्तै छ । उनका अनुसार केरियरवालाले युरिया १ हजार ५ सय र डिएपी ३ हजार ५ सयमा चाहेजति घरमै ल्याई दिन्छन् ।

झापा गाउँपालिकाका कृषि शाखाकी प्रमुख रिता वर्देवाका अनुसार यस पालिकामा २३ वटा सहकारीहरु दर्ता भएका छन् । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनवाट आएको रासायनिक मललाई सवै वडाका सहकारीहरुलाई बराबरी भाग लगाएर मलको सिफारिस गर्ने गरेको उनले बताइन् । कुनै पनि सहकारीले व्यक्तिलाई रासायनिक मल बिक्री वितरण गर्न दिएको थाहा पाएमा उक्त सहकारीलाई रासायनिक मलको सिफारिस नगर्ने उनले चेतावनी दिएकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्