झापा, माघ १५ । बिर्तामोडमा कुष्ठरोगको अबस्था डरलाग्दो रहेको रोगीहरुको तथ्यांकले देखाएको छ । बिर्तामोडमा हाल २० जना कुष्ठरोगी रहेको पाइएको छ ।

तीमध्ये तीनजना बालबालिका रहेका छन् । १८ जना आफै आएको र २ जनालाई खोजेर निकालिएकोमा नगरमा कुष्ठरोगीको संख्या अझ बढ्न सक्ने जनाइएको छ । १० हजार बराबर १ जनाभन्दा कम विरामी हुनुपर्नेमा बिर्तामोडमा प्रति १० हजार २ जनाको हाराहारीमा विरामी रहेको स्वास्थ्य शाखाका दीपक सापकोटाले जानकारी दिए । यो तथ्यांकले बिर्तामोड उच्च जोखिममा रहेको बुझ्नुपर्ने सापकोटाले बताए । चालू आर्थिक वर्षको ६ महिनामा यस नगरभित्र २० जना विरामीले औषधि सेवन गरिरहेका छन् । बिर्तामोड नगर अस्पतालबाट १७, चारपाने स्वास्थ्य चौकीबाट १ र गरामनी स्वास्थ्य चौकीबाट २ जनाले औषधि सेवन गरिरहेको स्वास्थ्य शाखा प्रमुख राजिव विष्टले जानकारी दिए । उनका अनुसार कुष्ठरोगका विरामी खोजी गर्न सबै वडामा माइकिङ गरिएको छ ।


झापाको १५ वटा स्थानीय तहमध्ये बिर्तामोड नगरपालिका कुष्ठरोगको उच्च जोखिममा रहेको हो । झापाको बिर्तामोड, दमक र भद्रपुर कुष्ठरोगीको संख्या धेरै भएको पालिकामा पर्दछन् । जिल्लामा कुष्ठरोगीको संख्या १६४ रहेकोमा १२३ जनाले औषधि खाइरहेको तथ्यांक छ ।४१ जनाले औषधी पूरा गरिसकेका छन् ।

७० औं विश्व कुष्ठरोग दिवसको अवसरमा बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा प्रस्तुत तथ्यांक अनुसार जिल्लाकै उच्च जोखिममा बिर्तामोड देखिएको छ ।
नगरले आज जनप्रतिनिधिहरुका लागि कुष्ठरोगसम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । अन्तरक्रियामा कुष्ठरोगबाट हुने असर र उपचारका बारेमा जानकारी दिइएको थियो । कुष्ठरोग पहिचान भएमा समयमै उपचार गर्दा निको हुने र अंगभंगबाट सुरक्षित हुने नेपाल कुष्ठरोग संगतिका झापा संयोजक पर्शुराम पोखरेलले जानकारी दिए । उनले अन्तरक्रियामा सहजीकरण गर्दै उपचारमा आवश्यक सहयोग गर्ने बताए ।
समयमा उपचार नगर्दा अंगभंग हुने, सामाजिक रुपमा दुव्र्यवहार व्यहोर्नुपर्ने लगायतका समस्या हुने उनले बताएका छन् ।सोही संस्थाको तर्फबाट निर्देशक एन्डु« सिथलिङले पनि सहजीकरण गरेका थिए ।


कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईले कुष्ठरोगमा हेलचेक्र्याई नगर्न आग्रह गरिन् । उनले शुरुवातमा हेर्दा सामान्य देखिने भए पनि विस्तारै गम्भीर समस्या हुने बताइन् । कार्यक्रममा नगर उपप्रमुख नगेन्द्र संग्रौलासहितका जनप्रतिनिधि, शिक्षा शाखा प्रमुख तिलचन भण्डारीलगायतको सहभागिता रहेको थियो । स्वास्थ्य शाखा प्रमुख राजिव विष्टले स्वागत गरेको कार्यक्रमको संचालन सिनियर अहेव दीपक सापकोटाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्