बिराटनगर, माघ १६। प्रदेश नं. १ प्रतिपक्षी दलका नेता तथा सांसद उद्धव थापाले कोदोको रक्सीलाई ब्राण्डिङ गरेर दीगो आय स्रोतको रुपमा लान आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताएका छन् ।


परम्परागत मदिरा (कोदोको रक्सी) प्रवर्द्धन समिति प्रदेश नं. १ ले सोमवार उनकै कार्यालय बिराटनगरमा स्मरणपत्र बुझाएपछि थापाले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
प्रवद्र्धन समितिका बुद्धिजीवि देशु वनेमले परम्परागत मदिरा निर्माण गरी ब्राण्डिङ गर्नसके करोडौं रुपैयाँ मदिराका नाममा बाहिर नजाने बताउँदै मदिरा ऐन २०३१ र मदिरासम्बन्धी नियम २०३३ ले परम्परागत घरेलु मदिरा उत्पादनमा अघोषित प्रतिबन्ध लगाएपछि अग्र्यानिक मदिरा प्रतिबन्ध हुँदा बिदेशी मदिराले स्थान पाएको ध्यानाकर्षण गराए ।

विदेशी मदिरा स्वदेशमा भित्रिएपछि नेपालमा कोदो उत्पादनमा ह्रास आएको र कोदो पनि विदेशबाटै किन्नु पर्ने बाध्यता भएको हुँदा अरबौं रुपैयाँ बाहिर गएपछि मुलुकलाई आर्थिक रुपमा असर परेको देखिएकोले घरेलु मदिरालाई प्राथमिकता दिँदै स्वदेशमै कोदो उत्पादनमा ध्यान दिन आग्रह गरेका थिए ।
स्मरणपत्र बुझेपछि कांग्रेस संसदीय दलका समेत प्रमुख रहेका सभापति थापाले सदनको पहिलो बैठकमै घरेलु मदिरालाई ब्राण्डिङ गरी आय स्रोतको रुपमा उठाउने प्रतिवद्धता जनाए।


सभापति थापाले प्रदेश नं. १ प्रशस्त आय स्रोतको खानी भएको ठाउँ हो । यसलाई सदुपयोग गर्नसके संघ तथा विदेशी दातृ निकायसँग हात फैलाउने आधारहरु हुने थिएन ।त्यसतर्फ आफू केन्द्रीत भएको बताउँदै परम्रागत मदिरालाई पहिलो बैठकमै मुद्दाको रुपमा उठाउने दोहोर्याए।

कार्यक्रममा स्मरणपत्र बुझाएपछि प्रवर्द्धन समितिका अध्यक्ष टेकबहादुर खजुमले विगत २ वर्षदेखि प्रवर्द्धन समितिले १ नं. प्रदेशका ९ वटा जिल्लामा समिति गठन गरिसकेको जानकारी गराउँदै प्रदेश सरकारले मुख्यमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय निर्देशन समिति गठन गरेको जानकारी गराएका थिए ।
उक्त समितिमा प्रवर्द्धन समितिको तर्फबाट टेक खजुम र सरु सिङ्गक सदस्य रहेको उद्योग मन्त्री सदस्य र उद्योग मन्त्रालयका मुख्य सचिव उच्चस्तरीय निर्देशन समितिको सचिव रहेको समेत जानकारी गराउँदै हाल उक्त समितिलाई चलायमान गराउन पनि सभापति थापालाई आग्रह गरेका थिए ।
प्रवर्द्धन समितिका सदस्य सिङ्गकले सञ्चालन गरेको कार्यक्रममा प्रवर्द्धन समिति झापाका अध्यक्ष सर्मिला आङ्दम्बे, सदस्य पदम प्रसाई, कोपिला लावती र अग्नीमाया मेचेलगायतले परम्परागत मदिराका विषयमा आ–आफ्ना राय राखेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्