एजेन्सी । नेटफ्लिक्सले अघिल्लो साता आफ्ना सेयरहोल्डरलाई बुझाएको एक समीक्षा पत्रमा आफ्ना प्रयोगकर्ताले पाउँदै आएको निःशुल्क पासवर्ड सेयरिङ सुविधा मार्च अन्त्यदेखि बन्द हुने घोषणा गरेको छ ।
पत्रमा ‘पहिलो चौमासिकको अन्त्यसम्ममा पेड सेयरिङलाई अझै सशक्त रूपमा लागू गर्ने’ भनिएको छ । मार्च अन्तिम साताभन्दा उता तपाईंले आफ्नो नेटफ्लिक्स पासवर्ड निःशुल्क सेयर गर्न पाउनुहुनेछैन । यसअघि अक्टोबरमा नेटफ्लिक्सले कम्पनीको प्रयोगकर्तामा आएको कमी र घट्दो आम्दानीलाई दृष्टिगत गर्दै पासवर्ड सेयर गर्न शुल्क लिने बताएको थियो । तर कहिलेदेखि त्यो सुरु हुने भन्ने खुलाएको थिएन । अहिले पनि स्पष्ट मिति त तोकिएको छैन । तर अप्रिलबाट पासवर्ड सेयरिङ शुल्क हुने पक्कापक्की जस्तै देखिएको छ । कम्पनीले एक प्रयोगकर्ताका लागि एउटा मात्रै ‘होम’ अकाउन्ट उपलब्ध हुने र बाँकी अतिरिक्त होमका लागि शुल्क लाग्ने घोषणा गरिसकेको छ । नेटफ्लिक्सले अर्जेन्टिना, डोमिनिकन रिपब्लिक, होन्डुरस, एल साल्भाडोर, ग्वाटेमालामा अहिले यो मोडल लागू गरिसकेको छ । यसअन्तर्गत हरेक अतिरिक्त ‘होम’ अकाउन्टहरूका लागि २.९९ डलर थप शुल्क लाग्ने बनाइएको छ । अमेरिकालगायत अन्य देशमा पनि यही शुल्क लागू हुने कि यसमा पनि संशोधन हुन्छ भन्ने खुलाइएको छैन । कम्पनीले पत्रमा आफ्नो सन् २०२२ वर्ष कठिन भएर गुज्रेको उल्लेख गरेको छ । नेटफ्लिक्सले गएको एक दशकमा पहिलो पटक प्रयोगकर्ता घटेको अनुभव गरेको थियो । पहिलो चौमासिकमै कम्पनीका प्रयोगकर्ता झन्डै २ लाखले घटेका थिए । तर कम्पनीले वर्षको अन्त्य ‘आशालाग्दो’ भएको र नाफा र मेम्बरसिपमा वृद्धि हुनुका साथै ह्यारी र मेगनको डकुमेन्ट्री जस्ता सफल कार्यक्रमले साख जोगाउने काम गरेको बताएको छ ।