झापा, माघ १७ । जनजागृति माध्यमिक विद्यालय हल्दिबारी गाउँपालिका वडा नं १ को ५५ औं वार्षिक उत्सव सम्पन्न भएको छ ।

माघ १५ गतेबाट सुरु भएर वार्षिक उत्सव समारोह माघ १७ गते सम्पन्न भएको हो ।
उद्घाटन कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश कार्कीको अध्यक्षतामा भएको थियो भने प्रदेश सांसद छवि चुडाल प्रमुख अतिथि रहेका थिए। हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली विशेष अतिथि रहेको कार्यक्रममा वडा नं १ का वडाध्यक्ष देवीबहादुर थापा, वडा सदस्यहरु शान्ता शिवाकोटी, रूपा रसाईली,जनजागृति क्याम्पस प्रमुख खगेन्द्र निरौला, पूर्व प्रधानाध्यापक त्रिलोचन मैनाली, पूर्व पिटिए अध्यक्ष मदन थपलिया, तुलाराम न्यौपाने, पूर्व वडा सदस्य सरिता न्यौपाने,दुर्गादेवी त्रिताल , प्रहरी चौकी इन्चार्ज विरेन्द्र शाह, रामप्रसाद पराजुलीलगायत विभिन्न विद्यालयका प्रतिनिधिहरू, समाजसेवी, शिक्षासेवीहरू सहभागी रहेका थिए।
विद्यालयकी प्राधानाध्यापक इन्दिरा कँडेल चुडालले आर्थिक वर्ष २०७८÷७९ को रू १ करोड ९५ लाख ५१ हजार ४ रूपैयाँको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू गोपालप्रसाद चुडाल, डिल्लीराम पोखरेल, जनकबहादुर थापा, त्रिलोचन सापकोटा र कमिलमणी चापागाई , पूर्व पिटिए अध्यक्षहरू मदन थपलिया, तुलाराम न्यौपाने र कृष्णकुमारी थपलियालाई सम्मान गरिएको थियो। यसैगरी उत्कृष्ट शिक्षकका रूपमा अर्जुन न्यौपाने,संजय बेघा र प्रेमकुमार गुरुङलाई विद्यालयका तर्फबाट सम्मान गरिएको थियो।
यस्तै रूद्रनाथ त्रिताल अक्षयकोषबाट विद्यालयकी प्रअ इन्दिरा कँडेल चुडाल, शिक्षकहरू तपन बराल र झमक तिम्सिनालाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूलाई प्रमुख अतिथि, विशेष अतिथि, व्यवस्थापन समितिका अध्यक्षलगायतले खदा तथा सम्मानपत्र प्रदान गरेका थिए।
यसैगरी प्रदेश सांसद, गाउँपालिका उपाध्यक्ष र वडाध्यक्षलाई विद्यालयले मायाको चिनो प्रदान गरेको थियो भने रूद्रनाथ त्रिताल अक्षयकोषकी अध्यक्ष दुर्गादेवी त्रिताललाई दोसल्ला ओढाएर सम्मान गरेको थियो।
यसैगरी विद्यालयको वार्षिकोत्सवको अवसर पारेर २०५८ सालमा एसएलसी दिने पूर्वविद्यार्थीहरू तारणी पोखरेल,याम बास्तोला, नरेश बराल,चिरन शिवाकोटी,सविन संग्रौलालगायतले गरिब तथा जेहेन्दार विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धिको हेतुले तत्काल रू १ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने र आगामी दिनमा अक्षयकोष बढाएर २ लाख पुर्याउने विद्यालय प्रशासनमार्फत जानकारी गराएका थिए।
कार्यक्रममा प्रमुख अतिथि चुडालले विद्यालयको ५५ औ वार्षिक उत्सवको शुभकामना दिँदै आगामी दिनमा आफूले गर्नुपर्ने सहयोग गर्न सदैव तयार रहेको धारणा राखेका थिए।
यस्तै विशेष अतिथि मैनालीले हल्दिबारी गाउँपालिकाले शैक्षिक सुधारका लागि गर्नुपर्ने सहयोग गर्ने वचनबद्धता व्यक्त गरिन् । कार्यक्रममा अन्य अतिथिहरूले ३ दिनसम्म चलेको वार्षिक उत्सव समारोह सफलताको शुभकामना दिएका थिए।

शिक्षक झमक तिम्सिनाले स्वागत मन्तव्य राखेको कार्यक्रममा विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए भने संचालन रामप्रसाद दाहालले गरेका थिए।

त्यस्तै हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यतामा भएको समापन समारोहमा शिक्षा शाखा प्रमुख जनककुमारी राईको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा नृत्य, फुटबल,भलिबललगायतका प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्