झापा , माघ १९ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो पटक आफ्नो विधान विपरीत कार्यवाहक सचिवको जिम्मेवारी दुर्गा पाठकलाई सुम्पिएको छ ।

यसअघि क्यानका केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्ललाई विधान विपरीत कार्यवाहक सचिवको जिम्मेवारी दिएको क्यान दोस्रो पटक विधान विपरीत गएको हो । क्यानको विधान अनुसार धारा २८ मा पदपूर्ति सम्बन्धी व्यवस्था गरेको छ । धारा २८ को १ मा पूर्व पदाधिकारी सदस्यलाई सुम्पिएको जिम्मेवारी अन्य पदाधिकारीलाई सुम्पिन सक्नेछ । जस अनुसार क्यानको अध्यक्ष बाहेकको पदाधिकारीको पद रिक्त भएमा कुनै अर्को पदाधिकारीले सम्हाल्नेछ । अध्यक्षको हकमा भने पद रिक्त भएको अवस्थामा उपाध्यक्षले बहन गर्ने उल्लेख छ । मल्लको हकमा साधारण सभाबाट पारित गरेर जिम्मेवारी पाएका थिए । क्यानमा जम्मा चारजना पदाधिकारी छन् । जसमा दुई पद रिक्त छ । उपाध्यक्ष भएको खण्डमा उपाध्यक्षलाई कार्यवाहक सचिवको जिम्मेवारी दिने मनसाय बनाएको क्यानले सदस्यलाई कार्यवाहक सचिवको जिम्मेवारी दिने भएको हो । अब पाठकलाई क्यानको फागुनमा बस्ने साधारण सभाले अनुमोदन गर्नेछ । यदि साधारणसभाबाट पारित नभए उनको पद स्वतः रद्द हुनेछ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले अहिले आफूहरूले पदाधिकारी नभएको अवस्थामा कामचलाउको रूपमा पाठकलाई नियुक्त गरेको र साधारणसभाबाट बाधा अड्काउ फुकाऊ गरेर पारित गर्ने बताए । ‘अहिले पाठकलाई कामचलाउको रूपमा नियुक्त गरेका हौँ । सुर्खेतमा हुने साधारणसभाबाट बाधा अड्काउ फुकाऊ गरेर पारित गर्नेछौँ,’ चन्दले भने । चन्दले कोषाध्यक्षलाई दिने भने पनि सचिव र कोषाध्यक्षले एउटै पदमा बस्दा काम गर्न असहज हुने भएकाले सदस्यलाई नै नियुक्त गर्न परेको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्