झापा, माघ १९ । झापाका तीन उद्योग र एउटा विद्यालयको चमेनागृहविरुद्ध मुद्दा दायर गरिएको छ।

गुणस्तरहीन एवं दूषित खाद्यवस्तु उत्पादन तथा बिक्री-वितरण गर्ने उद्योग एवं चमेनागृहविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नारायणप्रसाद भट्टराईले जानकारी दिए । बुद्धशान्ति-३ स्थित भगवती वेभरेज इण्डष्ट्रिज, मेचीनगर-१३ स्थित भ्याली एग्रो फिड प्रा.लि, भद्रपुर-६ स्थित स्टार फिड्स इण्डष्ट्रिज र मेचीनगर-६ स्थित काँकडभिट्टा मा.विमा सञ्चालित चमेनागृहविरुद्ध मुद्दा दायर गरिएको हो । भगवती वेभरेजद्वारा उत्पादित पानीमा कोलीर्फम भेटिएपछि जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । दूषित दाना उत्पादन तथा बिक्री वितरण गरिएको पाइएपछि स्टार फिडविरुद्ध मुद्दा दायर गरिएको छ । यस्तै अभिभावकको उजुरीका आधारमा काँकडभिट्टा मा.विको चमेनागृहमा अनुगमन गर्दा ढुसी परेको, सडेगलेको, गन्हाएको दूषित खाद्यवस्तु फेला परेपछि मुद्दा दायर गरिएको कार्यालय प्रमुख भट्टराईले बताए । उनले भने “सरकारी मापदण्डअनुसारको खाद्यवस्तु उत्पादन भए नभएको हेर्ने गरेका छौँ ।” मापदण्ड नपुगेका उद्योगलाई मापदण्ड पूरा गर्न निर्देशनसमेत दिएको उनले बताए । बजारमा रङ प्रयोग गरिएका भारतीय एवं लेवल नभएका नुडल्स् बिक्री-वितरण भइरहेका छन् । नेपालमा उत्पादित नुडल्स्मा रङ प्रयोग नभए पनि रङ प्रयोग गरिएका भारतीय नुडल्स् अनुगमनका क्रममा भेटिएको र तत्काल नष्ट गर्ने गरिएको प्रमुख भट्टराई बताउँछन् । खाद्य पदार्थ र दाना गरी थप छ उद्योगको अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ । गुणस्तर परीक्षणका लागि जिल्लामा प्रयोगशाला नहुँदा खाद्यवस्तुको परीक्षणमा समस्या हुने गरेको छ । विशेष गरी, दुग्धजन्य पदार्थ गुणस्तर परीक्षणमा समस्या हुने गरेको छ । जिल्लामा सङ्कलित खाद्यवस्तुको नमुना परीक्षणका लागि विराटनगर पठाउने गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्