झापा , माघ १९ । मुस्लिम आयोगले मुस्लिमलाई पुनः मधेसीकै सूचीमा राखेर सिफारिस गरिदिन मधेशी आयोगसमक्ष अनुरोध गरेको छ ।
मुस्लिम आयोगले मधेसी आयोगलाई एक पत्र पठाउँदै यस्तो आग्रह गरेको छ । यसअघि आयोगले सिफारिसकै आधारमा मुस्लिमलाई मधेसीको सूचीबाट हटाएको थियो । मधेसी आयोगद्वारा प्रकाशित ‘मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन २०७८’ मा १४९ जातसहित थारु र मुस्लिमलाई पनि मधेशीको रुपमा सूचीकृत गरिएको थियो । प्रतिवेदन राष्ट्रपति समक्ष पेश भएपछि मुस्लिम र थारु आयोगका पदाधिकारीहरुसहित सो समुदायका विभिन्न संघ संगठनहरुले मधेसी आयोगको सो निणर्यप्रति विरोध गरेका थिए । त्यसपछि आयोगले मङ्सिर २० गते बैठक बसी थारु र मुस्लिमलाई मधेशीको सूचीबाट हटाएको थियो । मधेसीको सूचीबाट मुस्लिमलाई हटाएपछि अहिले लोकसेवा लगायत विभिन्न निकायहरुमा प्रतिस्पर्धा गर्न मुस्लिम समुदायलाई सम्बन्धित निकायबाट मधेसीको सिफारिस पाउन अवरोध देखिएको कुरा मुस्लिम आयोगको पत्रमा उल्लेख छ । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आयोगले सुरुवातमा सबैलाई समेटेर नै आयोग अगाडि बढ्न खोज्दा सोही समुदाय र सम्बन्धित समुदायका आयोगका पदाधिकारीबाट व्यापक विरोध भएपछि सूचीबाट हटाएको बताए । यससँगै आयोग आन्तरिक छलफलमा रहेको बताइएको छ ।