काँकरभिट्टा, माघ १९ ।मेचीनगर–६काँकरभिट्टामा प्रधान कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले आँखाका बिरामीका लागि नयाँ अभियान सुरु गरेको छ ।
काँकरभिट्टा आई केयर सेन्टरको प्राविधिक सहयोगमा संस्थाले आफ्ना सदस्य तथा गैरसदस्यका लागि माघ १४ गते शिवगञ्जमा आँखा शिविर सञ्चालन गरेको थियो । उक्त शिविरमा ३७० जना आँखाका बिरामीले निःशुल्क आँखा जाँच गराएका थिए । जसमध्ये मोतियाबिन्दुको शल्यक्रियाका लागि ६६ र आँखासम्बन्धी अन्य समस्या भएका २६ जना बिरामीको उक्त शिविरमा पहिचान भएको थियो ।काँकरभिट्टा आई केयर सेन्टरका व्यवस्थापक योगेन्द्रजित शाहीका अनुसार निःशुल्क आँखा शिविरबाट पहिचान भएका बिरामीमध्ये बुधबार २५ जना र बिहीबार ११ जनाको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको छ भने मोतिबिन्दुको शल्यक्रिया गर्न बाँकी रहेका बिमारीहरुको शल्यक्रिया क्रमशः गरिनेछ ।
एनएमसीको विषयगत उपसमिति स्वास्थ्य उपसमितिले विगत वर्षहरूमा समेत आँखाका बिरामीका लागि यसप्रकारको शिविर र शल्यक्रियाको व्यवस्था मिलाउँदै आएको थियो । ‘विगतमा सकारात्मक प्रतिक्रिया रहेको संस्थाको अभियानलाई कोभिड अवधिमा भने स्थगित गर्नु प¥यो, अहिले आएर संस्थाले यो अभियानलाई एकपटक फेरि सुरु गरेका छौं’–उपसमिति संयोजक दिलिप सुवेदीले भने ।
आर्थिक वर्ष २०७९–८० मा एनएमसीले आँखा शिविर गरेको यो पहिलो पटक हो । यस आर्थिक वर्षमा एनएमसी र काँकरभिट्टा आई केयर सेन्टरको संयुक्त अभियानमा झापाको विभिन्न स्थानमा निःशुल्क आँखा शिविर सम्पन्न गरी मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गर्ने संस्थाको अभियान रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए ।