बिर्तामोड , माघ १९ । बिर्तामोड नगरपालिकाको ५ नं वडा कार्यालयले अपांगता भएका ७ जना व्यक्तिलाई ह्वील चियर वितरण गरेको छ ।

रोटरी क्लब अफ डिल्लीबजार काठमाडौंको सहयोगमा वडाका अपांगता भएका व्यक्तिहरुलाई ह्वील चियर वितरण गरिएको हो । ती सहयोग सामग्री उपलब्ध गराउन बिर्तामोड ३ निवासी रोटरी क्लब अफ डिल्लीबजारका प्रतिनिधि युवराज रोक्काले बिशेष पहल गरेका थिए । बिहीवार वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा कंचनजंघा टोलका राजन ढकाल , सूर्योदय टोलका सावित्री खवास , मधुमार्ग टोलका मेहमुन नेसा , बुद्धनगर टोलका कोपिला कुँवर , एकीकृत टोलका इतुसा लिम्बू , पुरानो सगरमाथा टोलका खड्गबहादुर मास्के मगर र बसपार्कका नैनकला पोखरेललाई ह्वीलचियर वितरण गरिएको वडाध्यक्ष रोहित प्रसाईले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता रोक्का र वडाध्यक्ष प्रसाईले ह्वील चियर वितरण गरेका थिए । ह्वील चियर पाएपछि अपांगता भएका व्यक्तिहरु खुशी भएका छन् । वडाध्यक्ष प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रोक्का , पुरानो सगरमाथा टोल विकास संस्थाका अध्यक्ष बाबुराम घिमिरेलगायतले मन्तव्य राखेका थिए ।

वडा सदस्यहरु मालती विक , दुर्गाप्रसाद शिवाकोटी , कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमलप्रसाद पौडेललगायतको आतिथ्य रहेको कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य ओमभक्त सेडाईले गरेका थिए । कार्यक्रमको संचालन वडा कार्यालयका नायव सुव्वा सुजाता तामाङले गरेकी थिइन् । बिर्तामोड ५ मा अति अशक्त २० र पूर्ण अपांग २४ जना रहेका छन् ।



