कुमरखोद, माघ १९ । झापा गाउँपालिकाले आफ्ना पालिकाभित्र रहेका कृषकहरुलाई मकै उत्पादन प्रवद्र्धन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा कृषि उपकरणहरु वितरण गरेको छ ।

कृषकहरुलाई पानी तान्ने मोटर , मकै छर्ने मेसिन र औषधी छर्नका लागि स्प्रेटेंकीहरु वितरण गरिएको हो । झापा गाउँपालिकाको कृषि शाखाले डिल्लीराज माविको सभाहलमा बिहीवार एक कार्यक्रमका बीच ३ हजार ६ सय रुपैयाँ पर्ने औषधी छर्किने स्प्रेटेंकी ३५३ थान , २२ हजार रुपैयाँ पर्ने पानी तान्ने मोटर ९० थान र ३ हजार ८ सय रुपैयाँ पर्ने मकै छर्ने मेशिन ८० थान कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको हो ।
साना किसान कृषि सहकारी संस्था कामाटोलीका अध्यक्ष केशव कटुवालले रासायनिक मल र खेतमा सिंचाईको अभावका कारण किसानले राम्ररी अन्नबाली उब्जाउन नसकेकाले कृषकहरुलाई बालीनालीमा हाल्ने किट्नाशक औषधी र समयमा बीउविजन उपलब्ध गराउन पालिकालाई अनुरोध गरे । त्यसैगरी गाउँपालिका उपाध्यक्ष अन्जुदेवी थपलियाले कृषकको खेतमा सिंचाईको व्यवस्था गर्नसके कृषकहरुले राम्ररी आयआर्जन गर्न सक्ने र कृषकका छोराछोरीलाई विदेश पठाउनु नपर्ने बताइन् । उनले कृषकहरुलाई ५० प्रतिशत अुनदानमा पाएको कृषि उपकरणहरु सही सदुपयोग गर्न अनुरोध गरिन् ।
त्यसैगरी झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले सकेसम्म प्रत्येक किसानको खेत– खेतमा बिजुली पुर्याउने आफूहरुको प्रयास रहेको बताए । उनले कृषकले खेतमा सिंचाई गर्दा उठेको बिजुलीको बिलको ५० प्रतिशत पालिकाले भुक्तानी दिने भएकोले पालिकामा आएर रकम लिन अनुरोध गरे । कार्यक्रममा वडा अध्यक्षहरु राजकुमार यादव , हिमालकुमार चम्लागाई , ताहिर मुल्वी , सुभाषलाल गणेश , नविनकिशोर थापा , सखिचन्द्र ठाकुर , राजकुमार कोचलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन कृषि शाखा प्रमुख रिता वर्देवाले गरेकी थिइन् भने स्वागत मन्तव्य पशु शाखा प्रमुख जगतनारायण मण्डलले गरेका थिए ।



