बिर्तामोड,माघ १९ । बिर्तामोडको ब्यापारिक क्षेत्रमा महत्वपूर्ण भूमिकामा रहँदै आएको मारवाडी समुदायले बिर्तामोडमा आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय औद्योगिक ब्यापार महोत्सव ब्यापारी–व्यवसायीका लागि महत्वपूर्ण भएको धारणा राखेका छन् ।

मेला संयोजक तथा बिर्तामोड उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेको संयोजकत्वमा भएको छलफलका सहभागीहरुले मेला सबै व्यापारी व्यवसायीका लागि महत्वपूर्ण पाटो भएको धारणा राखे ।
बिर्तामोडमा ब्यापार व्यवसाय शुरु गर्दादेखि नै व्यापारिक दृष्टिले महत्वपूर्ण भूमिकामा रहेका मारवाडी समुदायले मेलामा बिर्तामोड बजार सजावट, मेलामा स्टल राख्नुको महत्व बुझाउनु पर्नेमा जोड दिएका थिए । मारवाडी समुदायका अगुवा तथा युवा व्यवसायीले सरसफाई, सुरक्षा ब्यवस्था, चोकबाट मेलास्थलसम्म जाने यातायातका साधनमा भाडादरको एकरुपता कायम गरिनुपर्ने, पिउने पानीको व्यवस्था, प्राथमिक उपचारलगायतका कुरामा ध्यान दिनुपर्ने पनि सुझाए ।
बाणिज्य संघका पूर्वअध्यक्ष बेदप्रकाश अग्रवालले मेलाका कारण सबैलाई केही न केही फाइदा हुने बताउँदै मेला सफल बनाउनु सबैको दायित्व रहेको धारणा राखे । देश–विदेशका उपभोक्ता र उत्पादक जोडिने हुँदा मेलाको माध्यमबाट अघिपछि पनि फाइदा हुने बताए । साथै मेलाको आकर्षणका लागि बिर्तामोड बजारलाई आकर्षक बनाएर सजाउनु पर्नेमा उनको जोड थियो ।
छलफलकै क्रममा मारवाडी सेवा समूह बिर्तामोडका अध्यक्ष मोहन मित्तलले व्यवसायका लागि मेला मेरूदण्ड नै भएको बताउँदै महोत्सवमा स्टलबाट हुने फाइदाबारे व्यवसायीलाई जानकारी गराउनुपर्ने धारणा राखे । साथै बिर्तामोड महोत्सवलाई नमुना बनाउन सबै लाग्नुपर्नेमा जोड दिए । व्यापारी, व्यवसायीका लागि मेला अवसर भएको उनको भनाई थियो ।त्यस्तै मारवाडी युवा मञ्चका अध्यक्ष टेकेन्द्र अग्रवाल ( टोनी)ले फुडस्टलमा पनि कार्पेटिङ गर्नुपर्ने, धुलोको व्यवस्थापन गर्नुपर्ने बताए । साथै मेलास्थलमा धुलो नियन्त्रण हुनुपर्ने टोनीको सुझाव थियो ।
रवि शर्माले फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्ने, महोत्सव अवधिमा बिर्तामोड नगरको सरसफाईमा ध्यान दिनुपर्ने बताए ।
मारवाडी युवा मञ्चका सचिव जीवनकुमार अग्रवालले महोत्सव स्थलमा राखिने खाद्य सामग्रीको (खाना)को रेट तय गर्नुपर्नेलगायतका सुझाव दिएका थिए ।
सो अवसरमा बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुमार भट्टराई, उपाध्यक्ष नैनकला भट्टराई, राधिका चुडाललगायतले आ–आफ्ना धारणा राखेको मेला आयोजक समितिका सचिव कुशल खतिवडाले जानकारी दिए । आगामी फागुन ५ गतेबाट बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव हुने भएको छ ।



