बिर्तामोड , माघ १९ । डिफेन्डिङ च्याम्पियन दमक लखनपुर भेट्रान क्लबले तेस्रो बिर्तामोड भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा बिहीवार सम्पन्न फाइनल खेलमा धुलावारी भेट्रान क्लबलाई ३–१ गोल अन्तरले पराजित गरी दमक लखनपुर भेट्रानले दोस्रो पटक उपाधि हात पारेको हो । प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार १११, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेताले नगद ५१ हजार १११, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । दमक लखनपुरलाई जिताउन डेनिम राईले २ गोल गरेका थिए भने थप एक गोल सुवास आङथुप्पोले गरेका थिए । दुई गोल गर्ने राई हाइस्कोरर घोषित भए । उता धुलावारीका तर्फबाट सचिन्द्र धिमालले सान्त्वना गोल फर्काएका थिए ।
प्रतियोगितामा बेष्ट गोलकिप्पर दमकका सुनिल तामाङ , बेष्ट डिफेन्स दमककै अजेन तुम्बापो , बेष्ट फरवार्ड दमककै सुवास आङथुप्पो , म्यान अफ द म्याच दमककै डेनिम राई घोषित भए । त्यस्तै म्यान अफ द टुर्नामेन्ट धुलावारीका पूर्ण सुब्बा घोषित भए । उनीहरुलाई जनही नगद २१ सयका दरले पुरस्कृत गरिएको आयोजक क्लबका अध्यक्ष किरण थापाले बताए ।
आयोजक बिर्तामोड भेट्रान्स फुटबल क्लबका अध्यक्ष थापाका अनुसार प्रदेशस्तरीय प्रतियोगितामा १० टिमको सहभागिता रहको थियो । त्यस्तै, यो पटक प्रतियोगिताको टाइटल स्पोन्सरमा फास्ट ट्रयाक द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी रहेको थापाले बताए ।प्रतियोगिताको समापन कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल, झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत , वरिष्ठ उपाध्यक्ष बलराम कार्की , झापा ११ का अध्यक्ष जलकुमार गुरुङ,झापा भद्रपुर गोल्डकपका अध्यक्ष दिपेश ढकाल , बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी , ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा ,वरिष्ठ प्रशिक्षक भगिरथ आले , समाजसेवीहरु भोजराज सिटौला , सजेश शिवाकोटी , गजेन्द्र पौडेल , मनोज बुढाथोकी , शिखर साकोसका अध्यक्ष दिपेन्द्र राउत ,मुक्तिनाथ विकास बैंकका प्रवन्धक हरि ओझा , प्रायोजकहरु खड्ग ताम्लिङ, सागर थापालगायतको सहभागिता रहेको थियो । त्यस अवसरमा पूर्व राष्ट्रिय खेलाडी कृष्ण श्रेष्ठलाई सम्मान गरिएको क्लबका कोषाध्यक्ष झलकसिंह राजवंशीले बताए ।