झापा , माघ २० । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, भद्रपुर झापाले कन्काई नगरपालिकाको सभाहलमा एकदिवसीय खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी स्थानीय तहसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलको प्रमुख आतिथ्य तथा नगर उपप्रमुख आशा सिवाकोटीको आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख नारायणप्रसाद भट्टराईले गरेका थिए । कार्यक्रममा कार्यपालिकाका प्रमुख,९वटै वडाका वडाध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, कनकाई उद्योग वाणिज्य संघका प्रतिनिधि, इलाका प्रहरी कार्यालय घैलाडुब्बाका प्रतिनिधि, इलाका प्रहरी कार्यालय सुरुंगाका प्रतिनिधि, तथा स्थानीय पत्रकारहरुसहित जम्मा ३६ जनाको सहभागिता रहेको थियो।
‘स्वच्छ सन्तुलित आहार, स्वास्थ्य जीवनको आधार’ भन्ने नारासहित सुरु भएको उक्त जनचेतनामुलक अन्तरक्रियात्मक कार्यक्रममा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै कार्यालय प्रमुखले खाद्य स्वच्छताको परिचय, खाद्य स्वच्छता कसरी कायम गर्न सकिन्छ भन्ने विषयमा प्रकाश पारेका थिए । प्रस्तुतिकै क्रममा उनले खाद्य स्वच्छता कायम गर्न किन जरुरी छ, खाद्य स्वच्छता भएन भने मानव स्वास्थ्यमा कस्तो असर पर्छ, अस्वस्थकर अभ्यासले निम्तिने खाद्यजनित रोग र यसको न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने चर्चा गरेका थिए । साथै नेपालको संबिधानमा खाद्यसम्बन्धी हक, खाद्य सम्प्रभुता रहेको कुरा जानकारी गराउँदै खाद्य ऐन नियममा रहेका मुख्य बुँदाहरुमाथि प्रकाश पार्दै ऐनविपरित कार्य गर्नेलाई दण्ड सजाय हुने कुराको समेत जानकारी गराएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख पोखरेलले यस्तो जनचेतनामुलक कार्यक्रम समाजमा चेतना ल्याउनको लागि अति नै आवश्यक र सहयोगसिद्ध हुने तथा आगामी दिनमा यसलाई अझै घनिभूत पार्दै लानुपर्ने कुरामा जोड दिए । मन्तव्यका क्रममा पालिका उपप्रमुख सिवाकोटीले यो कार्यक्रम जनप्रतिनिधिलाई मात्र नभएर विद्यालय तथा आम उपभोक्ता तहसम्म पुर्याउन सके खानपान तथा जीवनशैलीमा अपेक्षित उपलब्धि हासिल हुनसक्ने कुरा बताइन् ।